काठमाडौँ, १७ वैशाख । नेपालको सबैभन्दा पुरानो र ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय का उपकुलपतिसहित सबै शीर्ष पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।
उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजाल ले बिहीबार संयुक्त रूपमा पदबाट राजीनामा दिएका हुन्।
पदाधिकारीहरूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। स्रोतका अनुसार हालै सिफारिस गरिएको अध्यादेशमा विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधान समावेश गरिएको र सत्तारुढ दलका केही नेताहरूबाट पनि पद खाली गराउन संकेत देखिएपछि उनीहरूले राजीनामा दिने निर्णय गरेका हुन्।
उल्लेखनीय छ कि शिक्षाध्यक्ष केसी र रजिष्ट्रार रिजाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने उपकुलपति अर्याल केपी शर्मा ओली नेतृत्वको कार्यकालमा नियुक्त भएका थिए।
यस सामूहिक राजीनामाले विश्वविद्यालयको नेतृत्व संरचनामा तत्काल प्रभाव पर्ने देखिएको छ भने अब नयाँ नियुक्ति प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।




.gif)





