काठमाडौँ, १७ वैशाख । हिमालयन पावर पार्टनर लिमिटेड ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो।
यसअनुसार, हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर उपलब्ध हुनेछ। कम्पनीले कुल ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो। त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति जेठ ६ गते तोकिएको छ।
रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंक का बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, नेपाल धितोपत्र बोर्ड बाट इजाजत प्राप्त सि(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा विकसित ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर अनलाइन आवेदन पनि दिन सकिन्छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि चुक्ता पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।
हकप्रदबाट संकलित रकम कम्पनीले प्राइम कमर्सियल बैंक को अगुवाइमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी बाट लिएको सहवित्तीयकरण ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।




.gif)





