काठमाडौँ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा भोली सोमबारबाट देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुनेछन्।

गत वर्षको तुलनामा यस वर्ष करिब ९० हजार विद्यार्थी घटेका छन्। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पुरानो पाठ्यक्रमका विद्यार्थीलाई तीन वर्षसम्म परीक्षा दिने अवसर दिइएकाले गत वर्षसम्म संख्या बढी देखिएको थियो। सो अवधि समाप्त भएपछि यस वर्ष परीक्षार्थी संख्या घटेको हो।
अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले एसईई उत्तीर्ण गर्ने करिब साढे ४ लाख विद्यार्थीमध्ये झण्डै ३ लाख ५० हजार मात्रै कक्षा ११ मा भर्ना हुने अवस्थालाई चिन्ताजनक मान्दै यसको कारण खोज्नुपर्ने बताएका छन्।
यस वर्ष ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। जसमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र २९० अन्य परीक्षार्थी रहेका छन्। आंशिकतर्फ ५ हजार ८३० विद्यार्थी सहभागी हुनेछन्।
जिल्लागत रूपमा सबैभन्दा कम मनाङमा ३१ जना र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ विद्यार्थी सहभागी हुनेछन्।
यस वर्ष देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौँमा सबैभन्दा बढी १६१ परीक्षा केन्द्र रहेका छन् भने मनाङ र मुस्ताङमा १–१ केन्द्र मात्र छन्।
प्रदेशगत विवरणअनुसार कोशीमा ६७ हजार ४९७, मधेसमा ६२ हजार ११४, बागमतीमा १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६, लुम्बिनीमा ६९ हजार ४११, कर्णालीमा ३० हजार ४७९ र सुदूरपश्चिममा ३७ हजार ४४५ परीक्षार्थी सहभागी हुनेछन्। जापानमा ३९ विद्यार्थीले परीक्षा दिनेछन्।
बोर्डले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै सरोकारवाला निकायलाई सहयोग गर्न आग्रह गरेको छ।




.gif)





