सर्लाही । जिल्लामा अवैध तथा मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थामाथि प्रशासनले कडाइ बढाएको छ। निरन्तर अनुगमन अभियान अन्तर्गत दुई दिनमै १६ भन्दा बढी स्वास्थ्य संस्थामाथि कारबाही गरिएको छ।
बिहीबार सदरमुकाम मलङ्गवा क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था बन्द गराइएको थियो। त्यसको निरन्तरता दिँदै शुक्रबार बरहथवा बजार क्षेत्रमा थप पाँच वटा स्वास्थ्य संस्था सिल गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको अनुगमन टोलीले दर्ता नै नभई सञ्चालनमा रहेका आयुष्मान हेल्थ केयर, सगरमाथा ल्याब, युनिक अस्पताल, जनसेवा ल्याब र स्माइल सरोकार डेन्टललाई बन्द गराएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
त्यस्तै, दर्ता भए पनि मापदण्ड पूरा नगरेका अन्य चार स्वास्थ्य संस्थालाई कडा चेतावनी दिइएको छ।
सहायक प्रजिअ घिमिरेले जिल्लाभर सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन जारी रहने बताउँदै नियम विपरीत सञ्चालन हुनेलाई जरिवाना तथा थप कारबाही गरिने स्पष्ट पारे।




.gif)





