काठमाडौँ, ११ वैशाख । काठमाडौँ महानगरपालिका ले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
महानगरको शिक्षा विभागले बिहीबार सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयहरूलाई सोही मितिदेखि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको हो। यो निर्णय संघीय सरकारले वैशाख २१ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्देशन दिएको सन्दर्भमा फरक रूपमा आएको छ।
महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको वैशाख १० गते बसेको बैठकले पठनपाठन सुरु गर्ने मिति तय गरेको हो। महानगरका अनुसार नयाँ शैक्षिक सत्रको सुरुवात सम्बन्धी नेपाल सरकार को निर्णय, काठमाडौँ उपत्यका मेयर्स फोरम को अनुरोध तथा व्यावहारिक पक्षको विश्लेषणपछि यो मिति निर्धारण गरिएको हो।
शिक्षा विभागका प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी लगायतका विषयको समग्र मूल्याङ्कन गर्दा सरोकारवालामा देखिएको द्विविधा अन्त्य गर्न वैशाख १५ गतेदेखि नै पठनपाठन सुरु गर्न आवश्यक देखिएको उल्लेख गरिएको छ।
यस निर्णयसँगै काठमाडौँ महानगरभित्रका विद्यालयहरू संघीय सरकारको तोकिएको मितिभन्दा केही दिन अगाडि नै सञ्चालनमा आउने भएका छन्।




.gif)





