अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।
‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्देन,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक भए पछि मन्त्री पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’
अब कीर्तिपुर अस्पताल तथा वीर अस्पतालको जलन वार्डसँगै कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा समेत जलनमा परेका व्यक्तिको निःशुल्क उपचार हुनेछ ।
यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लुम्बिनीमा भेरी अस्पताल कर्णालीमा समेत जलनपीडितको उपचार निःशुल्क हुनेछ । कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा समेत जलन पीडितको निःशुल्क उपचार हुनेछ ।
देशमा हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । देशको सबैभन्दा धेरै जलनपीडितको उपचार हुने कीर्तिपुर अस्पतालले ८०० जनाको उपचार गरेको थियो ।
मन्त्री पौडेलले कार्यभार सम्हाले लगत्तै गत महिना वीर अस्पतालले समेत जलन वार्ड राखेर जलन पीडितको उपचार थालेको छ ।
मन्त्री नियुक्त भए लगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलन सम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना सार्वजनिक गरेका थिए ।
मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको थियो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिए लगत्तै मन्त्रिपरिषद बैठकले समेत स्वीकृत गरेको प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णयमा उपचार गर्न नसक्ने बिरामीलाई कस्मेटिक बाहेकका जलनको उपचार व्यवस्था निःशुल्क गर्ने उल्लेख छ । मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने भएको छ ।




.gif)





