images

२०८३ आश्विन १८ गते

images
images
images

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् ।समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार सो ताल करिव ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ ।पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृङ्खला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ ।

    images
    images

    विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउछिन् । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्ती छ । महादेवको उग्ररुपअर्थात् भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो ।भैरवकुण्ड नजिकै अर्काे प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुङ्गा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् ।

    किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ ।तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ ।चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।

    images
    images

    हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ । यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ । बीचमा चौँरीका गोठहरुमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरुलाई थप सहजताका लागि अब भने बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउछिन् । पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ ।पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend