काठमाडौं -सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिबार र आइतबारको दुईदिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ । यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । पोखराका पर्यटन व्यवसायीहरूकाअनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ ।
अब राज्यले यस्ता बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ । अध्यक्ष आचार्यले राज्यका विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पनि ‘भ्रमण प्याकेज’ को अवधारणा ल्याएर प्रोत्साहित गर्नुपर्ने बताए ।
कर्मचारीहरूलाई योजनावद्ध रूपमा भ्रमणमा पठाउँदा अहिलेसम्म ओझेलमा परेका र कम परिचित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा मद्दत पुग्ने उनको धारणा छ । पर्यटकीय गन्तव्यहरूको उचित प्रवद्र्धन र सरकारका यस्ता नीतिहरूको निरन्तरताले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको भूमिका अझ सशक्त हुनेमा उनले जोड दिए ।पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) कि सचिव एवं होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले यस कदमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताइन् ।नयाँ वर्षको पूर्वसन्ध्या र बिदाको प्रभावले अहिले पर्यटकीय शहर पोखरा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । स्वयं होटल व्यवसायी समेत रहेकीसुवेदीले यो बिदाको व्यवस्थाले पर्यटन क्षेत्रमा दीर्घकालीन रूपमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।
होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल यस निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको बताए । उनले भने, “नेपाल सरकारले शनिवार र आईतवार गरी हप्ताको २ दिन बिदा दिने जुन घोषणा गरेको छ, यो हाम्रो पर्यटन क्षेत्रका लागि स्वागत योग्य छ । अन्तर्राष्ट्रिय जगतमा आइतबार बिदा हुने अभ्यास रहेकाले यसले तालमेल पनि मिलाउँछ । मुख्य कुरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यसले ठूलो सहयोग पुर्याउँछ ।”पर्यटकीय क्षेत्रहरु पोखरा, लेखनाथ र यस वरिपरिका गन्तव्यहरुमा पर्यटकको उपस्थितिले आर्थिक गतिविधि चलायमान बनाएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलले दुई दिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताइन् ।




.gif)





