काठमाडौँ । विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण प्रथम (८,०९१ मिटर) मा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा अवस्थित यस हिमालमा पहिलो आरोही टोलीले सफलतापूर्वक शिखर चुमेको छ।
सेभेन समिट ट्रेकअन्तर्गत लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वतारोहीले शनिबार आरोहण पूरा गरेका हुन्। विदेशी टोलीमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ तथा अजरबैजानका इस्फार्ली असुर्ली रहेका छन्। नेपालीतर्फ लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुुङपा, छाङुबा, तारामान र पासाङ शेर्पाले पनि सफल आरोहण गरेका छन्।
यसैबीच, शनिबार बिहान नेदरल्यान्ड र अष्ट्रेलियाका दुई आरोही तथा एक शेर्पाले पनि शिखर चुमेको जानकारी मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले दिनुभयो। उहाँका अनुसार पहिलो टोलीको सफलतासँगै आधार शिविर क्षेत्रमा पर्यटक तथा घुम्न जानेहरूको चहलपहल बढ्न थालेको छ।
पर्यटन विभागका अनुसार यस वर्ष अन्नपूर्ण आरोहणका लागि चार समूहका २७ जनाले अनुमति लिएका छन्, जसबाट रु एक करोड २० लाखभन्दा बढी राजस्व संकलन भएको छ।
इतिहासअनुसार मौरिस हर्जोग ले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण आरोहण गर्नुभएको थियो। त्यसको तीन वर्षपछि सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा ले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।




.gif)





