गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थल बाट आज (शनिबार) देखि सातामा चार पटक हवाई सेवा सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगम ले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने नयाँ तालिका सार्वजनिक गरेको हो।
यसअघि आइतबार, मंगलबार र बिहीबार मात्र उडान हुँदै आएकोमा अब शनिबार पनि थपिएको हो। निगमका अनुसार आन्तरिक उडानमा प्रयोग हुने ट्विनअटर जहाजको मर्मतसम्भार सम्पन्न भएपछि उडान संख्या बढाइएको रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।
उडान संख्या बढेसँगै भाडादरमा पनि वृद्धि गरिएको छ। नयाँ भाडादर अनुसार काठमाडौंबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौंबाट फर्किन रु १० हजार ७०२ कायम गरिएको छ। यसअघि क्रमशः रु ७ हजार ५०० र रु ७ हजार ३०० भाडा लाग्दै आएको थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण करिब रु ३ हजार ४०२ सम्म भाडा बढाइएको जनाइएको छ।
हाल नेपाल वायुसेवा निगम ले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत सेवा दिइरहेको छ। उडान तालिका अनुसार आइतबार काठमाडौंबाट बिहान ८ः०५ बजे उडान भई रेसुङ्गाबाट ९ः०५ बजे फर्किनेछ भने मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट बिहान ६ः१५ बजे र रेसुङ्गाबाट ७ः१५ बजे उडान हुनेछ।
प्राविधिक कारणले दिउँसो हावाको चाप बढी हुने भएकाले बिहानको समयमा मात्र उडान सञ्चालन गरिँदै आएको छ। पछिल्लो पाँच महिनादेखि नियमित सेवा सञ्चालन हुँदै आएको रेसुङ्गा विमानस्थलमा वर्षा र प्रतिकूल मौसमबाहेक उडानमा अवरोध नआएको बताइएको छ।
हवाई सेवा सञ्चालन भएसँगै गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ। यसअघि १६–१८ घण्टा लाग्ने स्थलमार्गको यात्रा अब हवाईमार्गबाट करिब ४५–५० मिनेटमै पूरा गर्न सकिने भएको छ। निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो।




.gif)





