न्यूयोर्क । बहुपक्षीय कर्जादाता निकायहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकले भेनेजुएलासँगको सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरेका छन् । यो निर्णय भेनेजुएलाको अन्तरिम सरकारसँग पुनः संलग्न हुने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ । सन् २०१९ मा विवादास्पद राष्ट्रपतीय चुनावपछि निकोलस मदुरो र जुआन गाइदोमध्ये को वैधानिक नेता भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदाय विभाजित भएपछि कोष र विश्व बैंकले काराकाससँगको सम्बन्ध तोडेका थिए । हालै कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले एक वक्तव्य जारी गर्दै भेनेजुएलासँग पुनः काम सुरु गरिएको जानकारी दिएकी छिन् । उनले यो कदम सदस्य राष्ट्रहरूको सहमतिमा भएको र यसले भेनेजुएलाका जनतालाई दीर्घकालीन लाभ पुर्याउने बताइन् ।
त्यसैगरी, विश्व बैंकले पनि आईएमएफको निर्णयलाई आधार मानेर सम्बन्ध पुनर्स्थापना गर्ने घोषणा गरेको छ । विश्व बैंकले भेनेजुएलालाई अन्तिम पटक सन् २००५ मा ऋण दिएको थियो ।भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोद्रिगेजले यस निर्णयलाई कूटनीतिक सफलता भन्दै स्वागत गरेकी छिन् । विभिन्न देशहरूको समर्थनका कारण भेनेजुएलाले पुनः आईएमएफमा फर्कन सफल भएको उनले बताइन् । यो निर्णयअघि डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले रोद्रिगेजमाथिका प्रतिबन्ध हटाएको थियो, जसले उनको अन्तर्राष्ट्रिय मान्यता बढाउन सहयोग गरेको मानिन्छ ।




.gif)



