प्योङयाङ । उत्तर कोरियाली शासनलाई सहयोग पुग्ने गरी ठुला अमेरिकी कम्पनीहरूलाई ठगी गरेको अभियोगमा दुई अमेरिकी नागरिकलाई जेल सजाय सुनाइएको छ ।अमेरिकी न्याय मन्त्रालयले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । न्युजर्सीका ३९ वर्षीय झेनसिङ 'ड्यानी' वाङ र ४२ वर्षीय केजीया 'टोनी'वाङ बोस्टनको एक संघीय अदालतले क्रमशः सात वर्षभन्दा बढी र नौ वर्ष जेल सजाय सुनाएको हो ।
अभियोजनका अनुसार यी दुवै जना जटिल षड्यन्त्रका ‘मध्यस्थ’ थिए, जसमा विदेशी प्राविधिक कामदारहरूलाई अमेरिकी नागरिकको पहिचान प्रयोग गराएर फर्च्युन (अमेरिकाका सबैभन्दा ठुला ५०० कम्पनीहरू) मा जागिर दिलाइन्थ्यो । यो योजनाको मुख्य हिस्सा 'ल्यापटप फार्म' अर्थात् अमेरिकी कम्पनीहरूले उपलब्ध गराएका कम्प्युटरहरूको समूह थियो, यसलाई उनीहरूले आफ्नै घरबाट सञ्चालन गर्थे ।ती कम्प्युटरमार्फत विदेशी कामदारहरूले अमेरिकी कम्पनीहरूमा पहुँच पाउँदै तलब लिने मात्र होइन, एक अवस्थामा क्यालिफोनिर्यास्थित एक रक्षा ठेकेदारबाट संवेदनशील डाटासमेत चोरेका थिए । अभियोजनका अनुसार यस योजनाबाट करिब ५० लाख डलर उत्तर कोरियाली शासनसम्म पुगेको थियो । अन्य प्रभावित कम्पनीहरूमा म्यासाचुसेट्सको एक सेमिकन्डक्टर वितरक र क्यालिफोर्नियाको सफ्टवेयर विकास कम्पनी पनि रहेका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न र आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउन यस्ता साइबर तथा प्रविधिसम्बन्धी योजनाहरू बढाउँदै लगेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
यसअघि २०२४ मा पनि एरिजोनामा एक महिलामाथि यस्तै योजनामा संलग्न रहेको आरोप लागेको थियो, ती महिलाले ६० अमेरिकीको पहिचान दुरुपयोग गरी ३०० कम्पनीहरूलाई प्रभावित पारेको आरोप लागेको थियो ।अमेरिकी सरकारले यस्ता गतिविधिहरू रोक्न कडा कदम चाल्दै आएको छ ।यसैबिच अमेरिकी विदेशले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको जानकारी दिनेलाई ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।




.gif)





