images

२०८३ आश्विन १७ गते

images
images
images

शुक्लाफाँटामा स्वास्थ्य बिमा कार्यक्रममा न्यून सहभागिता

शुक्लाफाँटामा स्वास्थ्य बिमा कार्यक्रममा न्यून सहभागिता

images
images
मंगलवार, बैशाख १ २०८३
मंगलवार, बैशाख १ २०८३
  • कञ्चनपुर, १ वैशाख । शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रमबाट अपेक्षा अनुसार सर्वसाधारण लाभान्वित हुन सकेका छैनन् ।  नगरपालिकाको कूल जनसङ्ख्या ५५ हजार ८०६ रहेकोमा हालसम्म पाँच हजार ७५६ जना मात्रै बिमा कार्यक्रममा आबद्ध भएका छन् । जुन कूल जनसङ्ख्याको करिब १० दशमलव ३१ प्रतिशत मात्रै रहेको छ । स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार सङ्घीय सरकारमार्फत पाँच हजार ७२६ र नगरपालिका–१० को सहयोगमा ३० जना बिमा कार्यक्रममा समेटिएका छन् ।  उहाँले स्वास्थ्य बिमासम्बन्धी पर्याप्त जानकारी र यसले पु¥याउने फाइदाका बारेमा जानकारी नहुँदा नागरिक सहभागिता न्यून भएको पाइएको बताउनुभयो । 

    images
    images

    “धेरैलाई बिमाको फाइदा, प्रक्रिया र उपयोगबारे स्पष्ट जानकारी छैन”, उहाँले भन्नुभयो, “अब बिमा अभिकर्तामार्फत व्यापक जनचेतना अभिवृद्धि गर्ने योजना बनाएका छौँ ।” उहाँका अनुसार, स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन इच्छुक नागरिकले तोकिएको बिमा दर्ता केन्द्र वा अभिकर्तामार्फत परिवारको विवरण पेस गर्नुपर्ने हुन्छ । 

    नागरिकता वा परिचयपत्र, परिवार सदस्यको विवरण र आवश्यक कागजातसहित आवेदन दिएपछि वार्षिक प्रिमियम शुल्क रु तीन हजार ५०० बुझाइ बिमा सदस्यता लिन सकिन्छ । सामान्यतया एक परिवार(पाँच जना सम्मको)ले न्यून शुल्क तिरेर वार्षिक रूपमा रु एक लाखसम्मकोे स्वास्थ्य सेवा निःशुल्क वा सहुलियतमा पाउने व्यवस्था रहेको छ ।

    images
    images

    बिमा कार्यक्रममा आबद्ध हुन केही चुनौती पनि देखिएका छन् । कतिपय नागरिकले बिमा प्रक्रिया झन्झटिलो भएको गुनासो गर्ने गरेका छन् । फाराम भर्ने प्रक्रिया, कागजात सङ्कलन, समयमै सेवा नपाउने चिन्ता, अस्पतालमा बिमा सेवा सहज नहुनुजस्ता कारणले पनि आकर्षण घटेको देखिन्छ । ग्रामीण क्षेत्रमा सूचना अभाव र पहुँचको कमी पनि प्रमुख समस्याका रुपमा रहेको छ ।

    “स्वास्थ्य बिमा कार्यक्रमले दीर्घकालीन रूपमा नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्दछ”, शाखा प्रमुख भट्टले भन्नुभयो, “आकस्मिक बिरामी पर्दा ठूलो खर्च बेहोर्नुपर्ने अवस्थाबाट जोगाउन बिमा प्रभावकारी माध्यम बन्न सक्छ, यसले उपचार खर्चमा राहत दिँदै गरिब तथा मध्यम वर्गीय परिवारलाई विशेष सहयोग पु¥याउने गर्दछ ।”

    नगरपालिकाले आगामी दिनमा बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा अभिकर्ताको सक्रिय परिचालन गर्ने योजना अघि सारेको उहाँको भनाई रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend