images

२०८३ आश्विन १८ गते

images
images
images

नर्भिक अस्पताल ३४ वर्षमा प्रवेश : हालसम्म ५० लाखले लिए सेवा

नर्भिक अस्पताल ३४ वर्षमा प्रवेश : हालसम्म ५० लाखले लिए सेवा

images
images
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । निजी क्षेत्रकै अग्रणी नर्भिक इन्टरनेशनल अस्पताल वैशाख १ गतेदेखि ३३ वर्ष पुरा भएर ३४ औं वर्षमा प्रवेश गर्दैछ ।नर्भिकले स्थापनाकालदेखि हालसम्मको ३३ वर्षको अवधिमा झण्डै ५० लाख बिरामीलाई सेवा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयकुमार मिश्रले जानकारी दिनुभयो ।  ‘निजी क्षेत्रको स्वास्थ्य सेवामा मानक स्थापित गर्न सफल नर्भिक अस्पतालले आफ्नो ३३ वर्षको यात्राका क्रममा उच्चस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्ति र आधुनिक प्रविधिको संयोजनमार्फत् झन्डै ५० लाख बिरामीलाई सेवा दिइसकेको छ,’ उनले भने ।

    images
    images

    सिइओ मिश्रले आगामी दिनमा पनि अस्पतालको सेवालाई अझै उत्कृष्ट र विश्वसनीय बनाउँदै बिरामीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार नर्भिक स्वदेशका सबै वर्ग र समुदायका साथै विदेशी नागरिकका लागि समेत विश्वसनीय गन्तव्य बनेको छ । हालसम्म सातै महादेशका ४० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएको छ । ३३ औं वार्षिकोत्सवको अवसरमा  नर्भिकले प्रभातफेरी र रक्तदान कार्यक्रम आयोजना गरेको छ । वैशाख १ गते बिहानको समयमा नर्भिकबाट थापाथलीचोक– त्रिपुरेश्वर–सुन्धारा–न्युरोडगेट– वसन्तपुर पुग्ने र वसन्तपुरबाट  न्युरोडगेट–रत्नपार्क– भद्रकाली–माइतीघर– थापाथली हुँदै नर्भिक अस्पतालसम्म प्रभातफेरी आयोजना गरिएको छ । यस्तै अस्पताल परिसरमा दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । 

    नयाँ भवन बन्दै, क्षमता थपिँदै

    images
    images

    हाल २ सय शय्या स्वीकृतिप्राप्त नर्भिकले आफ्नो क्षमता वृद्धिका लागि बनाउन लागेको अत्याधुनिक ८ तले भवन निर्माणको अन्तिम चरणमा छ । भवन निर्माणसँगै अस्पतालको क्षमता ३ सय बेडको हुनेछ । अस्पताल सन् २०२१ को जुलाइ १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । सिइओ मिश्रका अनुसार सर्वसाधारणका लागि चुक्ता पुँजीको २० प्रतिशत कित्ता साधारण शेयर निस्कासनका लागि प्रक्रिया पनि सुरु  भएको छ । जसका लागि निस्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सिइओ मिश्रका अनुसार मल्टिस्पेसियालीटी अस्पतालको रुपमा सेवालाई विस्तार गर्ने क्रममा नर्भिक इन्टिग्रेटेड क्यान्सर इन्स्टिच्युट स्थापना गर्ने योजना पनि नर्भिकको छ । 

    पछिल्लो एक वर्षका मुख्य उपचार सेवा

    पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको सफल उपचार सम्पन्न भएका छन् । जसमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ । यस्तै कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार तथा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु गरिएको छ । यो वर्ष मुटुको नसामा क्याल्सियम जमेका बिरामीको अर्बिटल एथेरेक्टोमी प्रविधिमार्फत् सफल उपचार गरिएको छ । यस्तै एक वर्ष अवधिमा मस्तिष्कको बाइपास सर्जरीमार्फत् ५ जना बिरामीको सफल उपचार गरिएको छ । अस्पतालमा पहिलोपटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) पनि सुरु गरिएको छ । अस्पतालले परामर्श र सहयोगका लागि पहिलो पटक स्तनपानसम्बन्धी परामर्श सेवा पनि सञ्चालनका ल्याएको छ । 

    यस्तै, पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने जटिल अवस्था–सेन्ट्रल प्लासेन्टा प्रिभिया विथ प्लासेन्टा परक्रिटा भएकी महिलाको सफल शल्यक्रियामार्फत् प्रसूति गराएको छ । अस्पतालले इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ भने प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । अस्पतालले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएका छ । हालका लागि यो सेवा काठमाडौं चक्रपथभित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि लागू गरिएको छ । नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । जसअन्तर्गत देशका विभिन्न जिल्लाबाट बिरामीलाई हेलिकोप्टरबाट तत्काल उद्दार गरी सफल उपचार गरिएको छ । 

    डेजी फाउन्डेसनको सहकार्यमा उत्कृष्ट नर्स सम्मान कार्यक्रम सुरु गरिँदै

    बिरामीको सेवामा अहोरात्र खटिने नर्सहरुको भूमिकालाई उच्च कदर गर्दै नर्भिकले आकर्षक पारिश्रमिक लागू गर्नुका साथै डेजी फाउन्डेसनसँगको सहकार्यमा उत्कृष्ट नर्सलाई सम्मान गर्ने कार्यक्रम पनि सुरु गर्न लागेको जनाएको छ ।प्रविधिको विकाससँगै अस्पतालले डिजिटल प्रणाली पनि अंगिकार गरेको छ । अस्पताललाई डिजिटलाइज्ड बनाउने क्रममा छुट्टै एप विकास गरिएको छ । चिकित्सकहरुले डिजिटल रुपमा प्रेस्क्रीप्सन लेख्नुहुन्छ, जसबाट बिरामीले कागज बोकेर हिड्ने झन्झट हटेको छ भने ल्याब परीक्षणको रिपोर्ट पनि बिरामीले एपमार्फत् सहज रुपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका साथै बिरामीको ल्याब परीक्षण रिपोर्ट  आफैं प्रिन्ट गर्न सकिने सुविधा ‘अटोमेटिक रिपोर्ट प्रिन्टिङ सिस्टम’ पनि अस्पतालले सञ्चालनमा ल्याएको छ ।  

    अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा स्वास्थ्य शिविर, सामुदायिक अस्पतालसँग सहकार्य, सामुदायिक चिकित्सकका लागि तालिम, एक्सपोजर कार्यशालालगायतका कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत र जापानकोे भिसा प्रयोजनका लागि स्वास्थ्य परीक्षण सेवा पनि सञ्चालन गर्दैआएको छ । 

    अस्पताल टाइमलाइन

    सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल तीन दशकको यो अवधिमा मुलुकको उत्कृष्ट मल्टी स्पेसियालिटी अस्पताल बन्न सफल भएको छ । स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९८ मा भारतको एस्कट्र्स हार्ट इन्स्टिच्युटसँगको सहकार्यमा हार्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्यूरोलोजी विभाग सुरु गर्‍यो । त्यसपछि सन् २००२ मा देशकै पहिलो क्याथ ल्याब सेवा स्थापना गर्‍यो भने २००४ मा पाचन रोग केन्द्र र प्रसूति तथा स्त्रीरोग विभाग स्थापना भयो ।  २००५ मा सीटी स्क्यान सेवा, २००६ मा घुँडाको प्रत्यारोपण शल्यक्रिया सेवा, २००७ मा नेपालकै पहिलो मोबाइल सीसीयू सेवा, २००९ मा नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन, २०१४ मा लुनकरणदास चौधरी डायग्नोस्टिक सेन्टर र २०१६ मा देशकै पहिलो ग्यास्ट्रो इन्टेस्टाइनल इन्टेन्सिभ केयर युनिट सुरु भयो । यसैगरी, २०१९ मा पब्लिक लिमिटेडमा रुपान्तरण भयो ।अस्पतालले २०२१ मा सुरु गरेको नेपालकै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ सेवा पनि स्वदेशी तथा विदेशी दम्पतीका लागि सन्तान सुख दिने भरपर्दो गन्तव्य बनेको छ ।  अस्पतालमा २०२२ देखि मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालनमा छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend