काठमाडौँ । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि लामो समयदेखि प्रतिक्षा गरिएको एउटा महत्वपूर्ण फिचर सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले कुनै पनि पोष्टमा गरेको कमेन्टलाई पठािसकेपछि पनि सच्याउन वा एडिट गर्न सक्नेछन्। हतारमा कमेन्ट गर्दा हुने त्रुटि वा गलत शब्दहरू सुधार गर्न यो फिचर निकै उपयोगी हुने देखिएको छ।कम्पनीका अनुसार यो फिचर विश्वभरका प्रयोगकर्ताहरूका लागि क्रमिक रूपमा उपलब्ध गराइँदैछ। नयाँ अपडेटपछि प्रयोगकर्ताहरूले कमेन्ट पोष्ट गरेको १५ मिनेटभित्र त्यसलाई एडिट गर्न सक्नेछन्। यो समय सीमाभित्र प्रयोगकर्ताले आफ्नो उत्तरलाई जति पटक पनि फेरबदल गर्न पाउने सुविधा दिइएको छ, जसमा कुनै सीमा तोकिएको छैन।
कमेन्ट एडिट गर्नका लागि प्रयोगकर्ताले आफूले गरेको कमेन्टमा ट्याप गर्नुपर्ने हुन्छ, जहाँ अब नयाँ ‘एडिट’ विकल्प देखा पर्नेछ। उक्त विकल्पमा क्लिक गरेपछि एउटा पप-अप खुल्नेछ, जसमा टेक्स्ट सच्याएर 'सेभ' गर्न सकिनेछ। यद्यपि, यो फिचरमा केही सीमितताहरू पनि छन्। प्रयोगकर्ताले केवल शब्दहरू मात्र एडिट गर्न सक्नेछन्; यदि कमेन्टमा कुनै तस्बिर वा मिडिया फाइल छ भने त्यसलाई परिवर्तन गर्न मिल्ने छैन।पारदर्शिताका लागि इन्स्टाग्रामले एडिट गरिएको कमेन्टको मुनि खरानी रङको ‘एडिटेड’ लेबल राख्नेछ। यसले गर्दा अन्य प्रयोगकर्ताहरूलाई उक्त कमेन्टमा सुधार गरिएको छ भन्ने जानकारी हुनेछ। तर, इन्स्टाग्रामले भर्सन हिस्ट्रीको सुविधा भने दिएको छैन, जसको अर्थ पहिले के लेखिएको थियो भन्ने कुरा अरूले हेर्न पाउने छैनन्।
यसअघि एक्सले पनि एडिट फिचर ल्याएको थियो, तर त्यो सबैका लागि नि:शुल्क उपलब्ध छैन। इन्स्टाग्रामकै अर्को प्लेटफर्म थ्रेड्समा भने यो सुविधा पहिलेदेखि नै थियो। सानो गल्तीका लागि कमेन्ट नै डिलिट गर्नुपर्ने झन्झट अन्त्य गर्दै इन्स्टाग्रामले ल्याएको यो अपडेटले प्रयोगकर्ताको अनुभवलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।




.gif)





