अर्थसमाचार संवाददाता,शिव न्यौपाने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल चेम्बर अफ कमर्स का प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। भेटमा निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र आर्थिक सहकार्यलाई प्राथमिकतामा राख्दै विस्तृत छलफल गरिएको हो।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले वर्तमान आर्थिक अवस्था, कर प्रणाली, औद्योगिक वातावरण र लगानीमैत्री नीति निर्माणबारे सरकारसँग समन्वय आवश्यक रहेको औंल्यायो। उहाँले सरकारको १०० दिने कार्यसूचीको स्वागत गर्दै पछिल्लो राजनीतिक स्थायित्वले आर्थिक विकासप्रति आशा बढाएको उल्लेख गर्नुभयो।
अध्यक्ष अग्रवालले साना व्यवसायीका लागि सरल कर प्रणाली, डिजिटल माध्यमबाट दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउनुपर्ने, र कर प्रशासनमा पारदर्शिता तथा पूर्वानुमानयोग्य वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। नीतिगत जटिलताका कारण ठूलो संख्यामा व्यवसायी प्रभावित भएको उल्लेख गर्दै महत्वपूर्ण नीति लागू गर्नुअघि प्रभाव मूल्याङ्कन प्रणाली विकास गर्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, कर संरचना सुधार, भन्सार दर अधिकतम २५ प्रतिशत कायम, मूल्य अभिवृद्धि कर बहुदर प्रणाली लागू, अन्तःशुल्क पुनरावलोकन तथा आयकर दर र सीमा संशोधनका विषयमा पनि चेम्बरले सुझाव दिएको छ।
चेम्बरका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठ ले हरित अर्थतन्त्र प्रवर्द्धन, विद्युतीय सवारीमा कर छुट र जलऊर्जा विकासमा जोड दिनुपर्ने बताउनुभयो। निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल ले गाँजा खेतीलाई वैधता दिने र बाझो जमिनको उपयोगका लागि नीति ल्याउनुपर्ने धारणा राख्नुभयो।
बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा ले मोबाइल फोनमा लगाइएको ख्ब्त् प्रावधानले व्यवसायमा असर परेको भन्दै पुनरावलोकन गर्न आग्रह गर्नुभयो। अन्य पदाधिकारीहरूले बैंकिङ सेवा सुधार, पर्यटन प्रवर्द्धन, आयात–आपूर्ति व्यवस्थापन तथा मौद्रिक नीतिमा समन्वय आवश्यक रहेको बताए।
सो अवसरमा चेम्बरले आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
छलफलको अन्त्यमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका समस्या बुझिएको उल्लेख गर्दै इमानदार व्यवसायीलाई राज्यले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नियोजित त्रुटि र बेइमानीप्रति कडाइका साथ प्रस्तुत हुने चेतावनी दिँदै उत्पादनमूलक उद्योग, आयात प्रतिस्थापन, लगानीमैत्री वातावरण र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।




.gif)





