images

२०८३ आश्विन १८ गते

images
images
images

प्रकृति र पशुपंक्षी स्वस्थ नभई मानिस स्वस्थ हुन सक्दैनन् : स्वास्थ्यमन्त्री

प्रकृति र पशुपंक्षी स्वस्थ नभई मानिस स्वस्थ हुन सक्दैनन् : स्वास्थ्यमन्त्री

images
images
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्यको सुरक्षाका लागि प्रकृति र पशुपंक्षीको स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताएकी छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘एक स्वास्थ्य’ (वान हेल्थ) को अवधारणालाई सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरिन्। प्रकृति सुरक्षित नभएसम्म र पशुपंक्षी स्वस्थ नरहेसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने उनको तर्क छ। मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको बढ्दो निकटताले स्वास्थ्य क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएको प्रति चिन्ता व्यक्त गरिन्। 

    images
    images

    विशेषगरी पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण फैलिएका किटजन्य रोग र वातावरणीय प्रदूषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएको उनले बताइन्। जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीचको आपसी सहकार्यले मात्र यस्ता समस्याको समाधान सम्भव हुने उनको भनाइ छ।कार्यक्रममा बोल्दै मन्त्री मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभाबी प्रयोगले निम्त्याएको ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को सङ्कटबारे पनि सचेत गराइन्। मानिस र पशुपंक्षी दुवैमा औषधिको अत्यधिक प्रयोगले भविष्यमा ठूलो स्वास्थ्य सङ्कट आउन सक्ने भएकाले यसको नियन्त्रणका लागि सबै सरोकारवाला निकाय जुट्नुपर्नेमा उनले जोड दिइन्। सरकारले सन् २०१९ देखि नै 'राष्ट्रिय एक स्वास्थ्य रणनीति' कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ आधुनिक र सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

    नेपाल एक कृषिप्रधान देश भएकाले यहाँको ठूलो जनसङ्ख्या पशुपालनमा निर्भर रहेको सन्दर्भमा मानव र वातावरणीय अन्तरसम्बन्ध झनै बलियो हुनुपर्ने मेहताले उल्लेख गरिन्। उनले नागरिकहरूलाई उपचारभन्दा पनि रोग रोकथामको पक्षमा बढी ध्यान दिन सुझाव दिएकी छन्। सरसफाइमा विशेष ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न उनले सबैमा आग्रह गरिन्। यस वर्ष 'मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित' भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend