हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क शय्या सेवा उपलब्ध गराउन ताकेता गरेको छ । मन्त्रालयले प्रदेशका निजी तथा गैरसरकारी अस्पतालहरूलाई ताकेता गर्दै कुल शय्याको १० प्रतिशतमा अनिवार्य रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयले सोमबार एक परिपत्र जारी गर्दै बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा भएको कानुनी व्यवस्थालाई अक्षरशः पालना गर्न निर्देशन दिएको हो ।उक्त ऐनमा हरेक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी अस्पतालको कुल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्यामा बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका र असहाय व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा दिनुपर्ने प्रावधान छ । सो अन्तर्गत लक्षित वर्गलाई आवश्यक सेवा, औषधि तथा उपचार उपलब्ध गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अस्पताल स्वयंले व्यहोर्नुपर्नेछ ।
उक्त कानुनी प्रावधानको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको र जनस्तरबाट विभिन्न गुनासोहरू प्राप्त भएका मन्त्रालयले ताकेता गर्दै कानुन बमोजिमको निःशुल्क सुविधा उपलब्ध गराउन निर्देशन गरेको हो ।मन्त्रालयले तोकिएको प्रतिशतमा लक्षित वर्गलाई सेवा उपलब्ध गराउन र सोको कार्यान्वयन सम्बन्धी प्रगति विवरण नियमित रूपमा मन्त्रालयमा पेस गर्न समेत निर्देशन दिएको छ ।




.gif)



