काठमाडौँ । काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग भोलि (शुक्रबार) देखि खुल्ने भएको छ । यही असोजको १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढी पहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रात दिन र चाडपर्व नभनी काम भइरहेकाले भोलि देखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनकारी दिए ।
आज फूलपातीको दिन पनि बिहानै देखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभर र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उनले जानकारी दिएका छन् । देशका अरु ठाउँमा सडक खुलाए पछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताए ।
केही मेसिन भाडामा पनि लिइएको उनले जानकारी दिए । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपाल सँग जोड्न बीपी राजमार्ग निकै महत्त्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिए । आफू पनि आजसम्म तीन पटक यो सडकको अनुगमनमा गएको शर्माले बताए ।
काठमाडौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुःख पाएका छन् । अब भोलि देखि नै सडक खुल्ने भएकाले टीका लगाउन जान सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाडौं आउजाउ गर्न सक्ने सचिव शर्माले बताए ।




.gif)





