images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • ओपनएआईले ६ महिनामै किन बन्द गर्‍यो...

ओपनएआईले ६ महिनामै किन बन्द गर्‍यो भिडियो प्लेटफर्म ‘सोरा’ ?

ओपनएआईले ६ महिनामै किन बन्द गर्‍यो भिडियो प्लेटफर्म ‘सोरा’ ?

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • सान फ्रान्सिस्को । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रणी संस्था ओपनएआईले आफ्नो अत्यन्तै चर्चित भिडियो जेनेरेसन प्लेटफर्म ‘सोरा’ लाई स्थायी रूपमा बन्द गर्ने स्तब्धकारी घोषणा गरेको छ। सार्वजनिक भएको ६ महिनामै कम्पनीले यसलाई आफ्ना कुनै पनि उत्पादन, डेभलपर टुल वा च्याटजीपीटीमा भिडियो बनाउने सुविधा नदिने गरी हटाउने निर्णय गरेको हो।एक्समार्फत सोराको आधिकारिक अकाउन्टले यस खबरको पुष्टि गर्दै प्रयोगकर्ताहरूसँग बिदा मागेको छ । कम्पनीले सोरा एप र यसको एपीआई पूर्ण रूपमा बन्द गर्ने समयतालिका चाँडै सार्वजनिक गर्ने बताएको छ।

    images
    images

    रोयटर्सका अनुसार यो निर्णय डिज्नीका अधिकारीहरूसँगको महत्त्वपूर्ण बैठक सकिएको आधा घण्टाभित्रै लिइएको हो । गत वर्ष डिज्नीले ओपनएआईमा १०० करोड डलर लगानी गर्ने र सोरामार्फत मार्वल तथा स्टार वार्सका २०० भन्दा बढी पात्रहरू प्रयोग गर्ने सम्झौता गरेको थियो।ओपनएआईको यो अचानकको कदमबाट डिज्नी निकै क्रुद्ध बनेको छ। पैसाको लेनदेन भइनसकेको भए पनि डिज्नीका प्रवक्ताले यसलाई ‘ठूलो धोका’ को संज्ञा दिएका छन्।

    किन बन्द भयो त सोरा ?

    images
    images

    सोरालाई बन्द गर्नुको पछाडि मुख्य गरी तीनवटा कारण देखिएका छन्-
    १.अत्यधिक खर्च र पावर खपत : भिडियो उत्पादनका लागि प्रयोग हुने सर्भर र जीपीयूहरूमा ठूलो लगानी र बिजुली खपत भइरहेको थियो । कम्पनी अब यो स्रोतलाई बढी नाफामूलक प्रोडक्टिभिटी टुल्समा लगाउन चाहन्छ।

    २.आर्थिक दबाब र घाटा : ओपनएआईले यस वर्ष १४ बिलियन डलरभन्दा बढीको घाटा व्यहोर्ने अनुमान गरिएको छ। यसै वर्षको अन्त्यसम्ममा आईपीओ ल्याउने तयारीमा रहेको कम्पनीले घाटा कम गर्न गैरजरूरी प्रोजेक्टहरू बन्द गर्ने नीति लिएको छ।

    ३. एन्थ्रोपिकसँगको प्रतिस्पर्धा : बजारमा एन्थ्रोपिक जस्ता प्रतिस्पर्धी कम्पनीहरूबाट पाइरहेको कडा टक्करका कारण ओपनएआई अहिले ‘कोड रेड’ मोडमा काम गरिरहेको छ।

    डीपफेक र सुरक्षा चुनौती

    सोरा एप भित्रको ‘क्यारेक्टर’ फिचर एपका लागि गलपासो बन्यो। यस फिचरको दुरुपयोग गरी प्रयोगकर्ताहरूले चर्चित व्यक्तित्व र ऐतिहासिक पात्रहरूको आपत्तिजनक डीपफेक भिडियो बनाउन थालेका थिए। यहाँसम्म कि ओपनएआईका सीईओ साम अल्टम्यानकै डरावना भिडियोहरूले एप भरिएको थियो।मार्टिन लुथर किङ जुनियर र रोबिन विलियम्स जस्ता दिग्गजका छोरीहरूले आफ्ना स्वर्गीय पिताको डीपफेक नबनाउन इन्स्टाग्रामबाटै अपील गर्नुपरेको थियो।

    डाउनलोड र कमाइमा भारी गिरावट
    तथ्याङ्क अनुसार सोराको लोकप्रियता निकै छिटो खस्किएको छ। नोभेम्बरमा ३३ लाख पटक डाउनलोड भएको यो एप फेब्रुअरीमा आइपुग्दा ११ लाखमा खुम्चियो । च्याटजीपीटीका साप्ताहिक ९०० मिलियन सक्रिय प्रयोगकर्ताको तुलनामा सोराको संख्या निकै नगण्य थियो। साथै, यसले भिडियो क्रेडिट बिक्रीबाट जम्मा २१ लाख डलर मात्र कमाउन सक्यो, जुन यसलाई चलाउन लाग्ने खर्चको तुलनामा निकै कम हो।

    अबको योजना के छ ?
    सोरा बन्द भए पनि खतरा भने टरेको छैन। कम्पनीले यसको शक्तिशाली सोरा २ मोडललाई च्याटजीपीटीको सशुल्क भर्सन पछाडि सुरक्षित राखेको छ। अब ओपनएआईको पूरा ध्यान च्याटजीपीटी, कोडेक्स र एआई ब्राउजर एटलसलाई मिलाएर एउटा सुपर एप बनाउनमा केन्द्रित हुनेछ। साथै, कम्पनीले आफैँ निर्णय लिन सक्ने एजेन्टिक एआई प्रणाली विकास गर्न पीटर स्टेनबर्गर जस्ता विज्ञहरूलाई आफ्नो टोलीमा सामेल गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend