काठमाडौँ, १ चैत । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम थपिँदै गएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले बढाइएको छ। बढेको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ, डिजेल ५४ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँले बढेर आएको थियो। तर सार्वजनिक यातायात, ढुवानी तथा सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी पेट्रोल र डिजेलमा कम मात्र वृद्धि गरिएको निगमले जनाएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत् राखिएको छ।
निगमका अनुसार मध्यपूर्व तथा (रुस–युक्रेन) को प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च बनेको छ। विगतमा घाटा खाएर तेल बिक्री गर्दा आईओसीलाई बुझाउनुपर्ने बक्यौता रकम करिब २४ अर्ब रुपैयाँ पुगेको निगमले जनाएको छ।
सरकारबाट ७ अर्ब रुपैयाँ ऋण तथा जग्गा धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिँदा पनि बक्यौता तिर्न नसकिएको भन्दै निगमले आपूर्ति प्रणाली प्रभावित हुने जोखिम बढेपछि बाध्य भएर मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि मूल्य घटाइने निगमले प्रतिबद्धता जनाएको छ।




.gif)





