काठमाडौं । नेपाल राष्ट्र बैंक ले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणका लागि बोलकबोल आह्वान गरेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै आगामी फागुन २७ गते २८ दिन अवधिको निक्षेप सङ्कलन उपकरण निष्कासन गर्न लागिएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल फागुन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत मात्र गर्न सकिनेछ। उपकरणको निष्कासन मिति पनि सोही दिन तोकिएको छ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते हुनेछ।
यस निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रिया मार्फत निर्धारण हुनेछ। सहभागी संस्थाले आफूले लगानी गर्न चाहेको रकम र ब्याजदर दशमलव पछाडि चार अंकसम्म उल्लेख गरी बोल गर्नुपर्नेछ। न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले जनाएको अनुसार यसमा सहभागी हुन नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र योग्य हुनेछन्। सङ्कलित निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पनि सकिनेछ।
बोलकबोलमा प्राप्त प्रस्तावहरूबाट सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरमा बढी रकम प्रस्ताव भएको अवस्थामा भने प्रोराटा आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। साथै आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।
स्वीकृत भएका बोलपत्र बापतको रकम सम्बन्धित काउन्टर पार्टीको बैंक खाताबाट राष्ट्र बैंकले खर्च गरी लिनेछ। खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
सङ्कलित निक्षेप रकमको भुक्तानी मितिमा निर्धारित ब्याज सहित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ। उक्त रकम लगानी पोर्टफोलियोका रूपमा रहने भएकाले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने तर SLR तथा Liquidity Ratio मा भने गणना गर्न पाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। साथै भुक्तानी मिति अघि निक्षेप रकम फिर्ता वा प्रि–म्याच्योर भुक्तानी नहुने जनाइएको छ।




.gif)





