काठमाडौँ । विश्व बैंकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदूषण न्यूनीकरण तथा वायु गुणस्तर व्यवस्थापन प्रणाली सुदृढ बनाउन उक्त ऋण स्वीकृत गरेको हो।
विश्व बैंकका अनुसार ‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’ नाम दिइएको कार्यक्रम मार्फत औद्योगिक तथा व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर तथा भट्टीबाट निस्कने हानिकारक सूक्ष्म कणको उत्सर्जन घटाउने लक्ष्य राखिएको छ।
यो परियोजना विशेषगरी काठमाडौं उपत्यका, तराई तथा पहाडी फेदीका वायु प्रदूषण उच्च जोखिम भएका क्षेत्रमा कार्यान्वयन गरिनेछ।
विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण स्वास्थ्योपचार खर्च तथा उत्पादकत्वमा हुने गिरावटले कुल गार्हस्थ्य उत्पादन जीडीपी को ६ प्रतिशतभन्दा बढी आर्थिक भार पार्ने गरेको छ। उक्त परियोजनाले यस आर्थिक क्षतिलाई घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
परियोजनाअन्तर्गत उद्योगहरूलाई स्वच्छ प्रविधि प्रयोग गर्न सहुलियतपूर्ण ऋण तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। यसले उद्योगहरूको सञ्चालन खर्च घटाउनुका साथै प्रतिस्पर्धात्मक क्षमता समेत बढाउने अपेक्षा गरिएको छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले औद्योगिक उत्सर्जन आगामी वर्षहरूमा वायु प्रदूषणको प्रमुख स्रोत बन्ने संकेत देखिएको बताएका छन्। उनका अनुसार यो परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ उन्मुख गराउँदै दीर्घकालीन दिगो विकासमा टेवा पुर्याउनेछ।
यो परियोजना विश्व बैंकको ‘इन्डो–ग्याङ्गेटिक प्लेन्स एण्ड हिमालयन फुटहिल्स’ क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रम अन्तर्गत सञ्चालन हुने बताइएको छ।




.gif)





