images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • पेट्रोलियम पदार्थ जोहोमा सरकार, आपूर्ति व्यवस्थापनमा...
आपूर्ति व्यवस्थापनमा निगरानी कडा

पेट्रोलियम पदार्थ जोहोमा सरकार, आपूर्ति व्यवस्थापनमा निगरानी कडा

पेट्रोलियम पदार्थ जोहोमा सरकार, आपूर्ति व्यवस्थापनमा निगरानी कडा

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । मध्यपूर्वमा चर्किएको अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्न थालेपछि नेपाल सरकारले आपूर्ति व्यवस्थापनमा सतर्कता बढाएको छ।

    images
    images

    गत फागुन १६ गतेबाट युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ६५ प्रतिशतसम्म बढेको छ। फेब्रुअरी २०२६ को अन्त्यतिर प्रतिव्यारेल करिब ७० अमेरिकी डलर आसपास रहेको ब्रेन्ट क्रुडको मूल्य मार्चको पहिलो सातासम्म आइपुग्दा ११० देखि १२० अमेरिकी डलरसम्म पुगेको थियो।

    युद्धका कारण तेल उत्पादन र ढुवानी प्रभावित हुँदा विश्व बजारमा आपूर्ति शृंखलामा समस्या देखिन थालेको छ। छिमेकी मुलुक भारतमा पनि मागको तुलनामा आपूर्ति कम देखिन थालेपछि नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

    images
    images

    विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार पेट्रोलियम पदार्थ आयातमा पूर्ण रूपमा निर्भर नेपाल अन्तर्राष्ट्रिय बजारको प्रभावबाट बच्न सक्ने अवस्था छैन। मध्यपूर्वमा देखिएको संकटले भारत, पाकिस्तान र बंगलादेशमा समेत असर पारिरहेको र नेपालले भारतबाट प्रशोधित तेल आयात गर्ने भएकाले भविष्यमा कोटा घट्ने जोखिमप्रति सचेत रहनुपर्ने अवस्था रहेको उनले बताए।

    बजारमा करिब डेढ महिनादेखि ग्यास अभाव देखिँदै आएको र पछिल्ला दिनमा त्यो समस्या झनै बढ्दै गएको छ। विश्व बजारमा ग्यासको अभाव र मूल्य वृद्धिका कारण नेपालमा कालोबजारी हुन सक्ने सम्भावना बढेपछि विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको विस्तृत विवरण मागेको छ।

    ‘भारतमा पनि संकट बढ्दै गएको देखिन्छ। यहाँ पनि केही स्थानमा ग्यास अभाव देखिएको छ। आयल निगमले आपूर्ति भइरहेको बताएको छ तर मागको तुलनामा आपूर्ति अपेक्षित जस्तो देखिएको छैन। त्यसैले सचेतता अपनाउन र अनुगमन बढाउन आवश्यक भएको हो,’ तिवारीले बताए।

    विभागले आयल निगमसँग कुल माग, आपूर्ति, उद्योगको संख्या, उत्पादन क्षमता तथा बजार व्यवस्थापनका उपायबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। साथै सम्भावित संकट व्यवस्थापनका लागि ठोस कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न पनि निगमलाई भनिएको छ।

    नेपालमा दैनिक करिब २ हजारदेखि २ हजार ५ सय किलोलिटर पेट्रोल र ४ हजारदेखि ४ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गर्छ। भारतले निर्माण गरिदिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत दैनिक ६ हजारदेखि ७ हजार किलोलिटर इन्धन आयात हुन्छ। हाल नेपालभर करिब १ लाख २ हजार किलोलिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको छ, जुन करिब १० दिनका लागि पर्याप्त मानिन्छ।

    ग्यासतर्फ भने नेपालले मासिक करिब ५१ हजार मेट्रिक टन आयात गर्दै आएको छ। अहिले मासिक खपत करिब ४६ हजार मेट्रिक टन रहेको छ भने दैनिक खपत करिब १५ सय मेट्रिक टन छ। देशभर करिब १ करोड ७० लाख ग्यास सिलिन्डर प्रयोगमा रहेका छन्।

    पेट्रोलियम पदार्थको मूल्य किन बढिरहेको छ ?

    फेब्रुअरी २८ देखि इरानसँगको युद्ध चर्किएपछि मध्यपूर्व क्षेत्र प्रभावित भएको छ। विश्वको कुल तेल आपूर्तिको करिब २० देखि २५ प्रतिशत हिस्सा ओगट्ने स्ट्रेट अफ हर्मुज जलमार्ग लगभग बन्दजस्तै अवस्थामा पुगेपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित भएको हो।

    फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने यो साँघुरो जलमार्गबाट सामान्य अवस्थामा दैनिक करिब २० मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुन्छ। साउदी अरब, इराक, कुवेत, संयुक्त अरब इमिरेट्स र इरानबाट हुने ठूलो हिस्सा यही मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ। कतारबाट हुने ठूलो परिमाणको तरल ग्यास ९एलएनजी० निर्यात पनि यही मार्गमा निर्भर छ।

    विश्लेषकहरूका अनुसार यदि यो मार्ग पूर्ण रूपमा बन्द भयो भने तेलको मूल्य प्रतिब्यारेल ४०० डलरभन्दा माथि पुग्न सक्ने र विश्वव्यापी ढुवानी लागत तथा महँगीमा ठूलो वृद्धि हुन सक्ने जोखिम छ।

    युद्ध अन्त्यको संकेतसँगै तेलको मूल्यमा गिरावट

    मध्यपूर्व तनावका कारण सोमबार करिब १२० अमेरिकी डलर प्रतिब्यारेल पुगेको तेलको मूल्य भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यतिर पुगेको संकेत दिएपछि घट्न थालेको छ।

    ट्रम्पले सोमबार साँझ सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा युद्ध चाँडै समाप्त हुन सक्ने संकेत गरेपछि विश्व बजारमा तेलको मूल्य करिब ९२ अमेरिकी डलर प्रतिब्यारेलसम्म झरेको छ।

    पछिल्लो समय रुस–युक्रेन युद्ध सुरु भएपछि पनि तेलको मूल्य प्रतिव्यारेल करिब १२७ अमेरिकी डलरसम्म पुगेको थियो। सन् २०२१ मा उक्त युद्धअघि तेलको मूल्य करिब ५२ अमेरिकी डलर प्रतिब्यारेल रहेको थियो भने सन् २०२५ को डिसेम्बरमा करिब ५९ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भइरहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend