काठमाडौँ अन्तर्राष्ट्रिय बालक्यान्सर दिवस २०२६ (आईसीसीडी)का अवसरमा नेपालभर प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ । माघ २९ देखि फागुन ४ गतेसम्म भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित विविध कार्यक्रमले सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार तथा अभिभावकलाई साझा उद्देश्यमा जोड्दै आशावादी सन्देश दिएका छन्—बालक्यान्सर समयमै पहिचान गरी उचित उपचार गरे निको हुन सक्छ ।अभियानको सुरुवात भक्तपुर क्यान्सर अस्पताल बाट भएको थियो, जहाँ प्रदेश तथा संघीय तहका सरोकारवालाले समन्वित र प्रभावकारी क्यान्सर सेवाको आवश्यकता औंल्याए। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (एमओएचपी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिसँग मिलेर सुदृढ रेफरल प्रणाली, व्यवस्थित तथ्यांक संकलन तथा प्रतिवेदन प्रणाली र बालक्यान्सर सेवामा पहुँच विस्तार गर्न जोड दिनुभयो ।
भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल मा फागुन १ देखि ३ गतेसम्म आयोजित तीनदिने कार्यक्रममा समुदायस्तरीय सचेतना अभिवृद्धिमा विशेष ध्यान दिइयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बालक्यान्सरका प्रारम्भिक चेतावनी संकेत पहिचान गर्ने तालिम प्रदान गरियो, जसले छिटो सिफारिस र समयमै उपचार सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा निको भइसकेका बालबालिका र उपचाररत परिवारबीच अनुभव आदानप्रदान सत्रसमेत आयोजना गरियो, जसले प्रारम्भिक उपचारको जीवनरक्षक महत्व उजागर ग¥यो ।अभियानको समापन कान्तिबाल अस्पताल मा भएको थियो, जहाँ ‘अभिभावक सहयोग समूह’ औपचारिक रूपमा गठन गरियो। स्वयंसेवी अभिभावक सम्मिलित यस समूहले मासिक भेटघाटमार्फत उपचाररत परिवारलाई मार्गदर्शन, भावनात्मक साथ र व्यवहारिक सुझाव प्रदान गर्नेछ ।
उपचार प्रक्रियामा भावनात्मक सन्तुलन र मानसिक सुदृढताको महत्वलाई ध्यानमा राख्दै वल्र्ड चाइल्ड क्यान्सर (डब्लुसीसी) र रमेश गुप्ता मेमोरियल ट्रस्ट (आरजीएमटी)ले विभिन्न अस्पतालमा उपचाररत बालबालिकाका लागि शैक्षिक सामग्री तथा खेलौना वितरण गरेका छन् । साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालका बालक्यान्सर वार्डलाई अझ बालमैत्री बनाउन विशेष खेल सामग्रीसमेत प्रदान गरिएको छ ।यस वर्षको आईसीसीडी अभियान नेपाल सरकार, अग्रणी बाल तथा क्यान्सर उपचार संस्था र नागरिक समाज संगठनहरू—टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर (ट्याक) र धैर्य क्यान्सर फाउन्डेसन—बीचको सहकार्यमा सम्पन्न भएको हो। प्रारम्भिक पहिचान, समुदायस्तरीय सचेतना र परिवारकेन्द्रित उपचार प्रणाली प्रवद्र्धन गर्ने लक्ष्यसहित अघि बढाइएका यी प्रयासहरूले प्रत्येक बालबालिकालाई समयमै उपचार र सहानुभूतिपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता पुनः दोहो¥याएका छन् ।




.gif)





