बागलुङ २० माघ । बागलुङ नगरपालिका–८ सिगानामा सुन्तलाखेतीले बर्सेनि वृद्धि पाएको छ। सिगाना गाउँले अब ‘सुन्तला गाउँ’को परिचय पाइसकेको छ। यस वर्ष सिगानाका किसानहरूले सुन्तला बिक्रीबाट करिब रु ४ करोड आम्दानी गरेका छन्।
गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका किसान अनन्त खड्काले यस वर्ष सात लाख ५० हजारमा बगैँचा बिक्री गरेका छन्। खड्काले उत्पादन सँगै मूल्य राम्रो पाएकोमा खुशी व्यक्त गरे। यहाँ एक सयभन्दा बढी किसानले वार्षिक रूपमा एक लाखदेखि सात लाख सम्म रकम गाउँ भित्र्याउँदै आएका छन्।
सुन्तलाखेतीको तथ्याङ्क वडा कार्यालयले नभई गणेश कृषि सहकारीले राख्दै आएको छ। सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले पोखरा, काठमाडौं र चितवनमा बजार पाइरहेको छ। कोदो बारी र धान खेत मासेर किसानहरूले २०५० सालदेखि सुन्तलाखेती सुरु गरेका थिए र अहिले उत्पादन विस्तार भइरहेको छ।
सिगानाका बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोट क्षेत्रमा सुन्तलाखेती विस्तार भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष चार करोड रकम भित्रिएको छ भने, कुल उत्पादनमा करिब रु ५० लाख वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताए।
सहकारी मार्फत किसानहरूलाई अनुदानमा बिरुवा वितरण गर्दै सुन्तलाखेती बढाउँदै आएको छ। मौसम राम्रो र रोग नलागेका कारण यस वर्ष उत्पादनमा वृद्धि भएको छ। किसानहरूले उत्पादनको स्तरीकरण गरेर फरक–फरक मूल्यमा ठेकेदार मार्फत बजारमा पठाइरहेका छन्।
सिगानामा २५० भन्दा बढी किसानको साना–ठूला बगैँचा छन् र यस वर्ष ४०० नयाँ बोटले उत्पादन दिन सुरु गरेका छन्। साविक ३, ४, ५ र ७ वडामा उत्पादन राम्रो हुने गरेको छ। अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष जितबहादुर जिसीले जानकारी दिए।
सुन्तलाखेती विस्तार, मलजल र व्यवस्थित व्यवस्थापनका कारण सिगानामा उत्पादन फस्टाउँदै गएको छ।




.gif)





