काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उल्लेखनीय वित्तीय सुधार गर्दै १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.०४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ७६ करोड ३० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा आएको उल्लेख्य वृद्धिका कारण बैंकको समग्र नाफा सुधारिएको हो ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३८.४९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ६ अर्ब १० करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा समेत उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ८ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ सञ्चिति रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ५ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको वितरण योग्य मुनाफा पनि सुधारिएको छ । अघिल्लो अवधिमा १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा घटेर २४ करोड १८ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ ।
बैंकको खराब कर्जामा समेत सुधार देखिएको छ । पुस मसान्तसम्म ४.९६ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.३६ प्रतिशतमा झरेको छ ।




.gif)





