images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • म्याग्दी, १६ माघ । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् । हाल प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताउनुभयो ।
     
    “देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीले बाँसखर्कको सुन्तला किनेर लैजान थालेका छन्”, उहाँले भन्नुभयो, “माघ महिनासम्म बगैँचामा राखिने भएकाले बाँसखर्कको सुन्तलाले राम्रो बजारभाउ पाएको हो । माघको अन्तिममा प्रतिकिलो रु दुई सयसम्ममा सुन्तला बिक्री हुन्छ ।”

    images
    images

    पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन् । समुद्री सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तलाखेती गरेका छन् । एउटा परिवारले वार्षिक कम्तीमा रु पाँच लाखको सुन्तला बेच्छन् ।

    बाँसखर्कमा ५३ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर खत्रीले सुन्तलाका बिरुवा लगाउँदा तप्केनी भई खेतीबाली बिग्रन्छ भनेर छिमेकीले उखेलेर फालिदिएका थिए । बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती भित्र्याउँदा काडा रोपेर खेतबारी बिगार्न खाजेको आरोप खेपेका उहाँहरु अहिले जीवित नरहे पनि समाजले सम्झिरहेको छ । अर्मजा र खत्रीको गाउँलाई समृद्ध, आत्मनिर्भर बनाउने पाँच दशकअघिको योजनाको लाभ उहाँका सन्ततिले मात्र नभएर सिङ्गो बासखर्कवासीले लिएका छन् ।

    images
    images

    “हाम्रा बुबाले २०२८ सालमा रोपेको सुन्तलाको बिरुवा उखेलेर फालिदिएछन्, पछि २०३२ सालमा ल्याएर रोपेको बिरुवाले अहिले पनि फल दिइरहेको छ”, बलबहादुर खत्रीका छोरा नरबहादुरले भन्नुभयो, “बुबा बितेर गएको २२ वर्ष भयो, मैले र भाइले बर्सेनि रु १० देखि १३ लाखका दरले सुन्तला बेच्छौँ । बुबाको पेन्सन हामीले खाइरहेका छौँ । सुन्तलाखेतीले बासखर्कवासीको आर्थिक र सामाजिक हैसियत फेरिएको छ ।”

    बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको छ । यस वर्ष रु २० करोड मूल्यबराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । बाँसखर्कमा ५१ हजार १५१ सुन्तलाका बोट छन् । विसं १९९७र९८ तिर बजारमारे र विरमारेमा सोखका लागि करेसाबारीमा एकदुई बोट सुन्तला लगाएका थिए । व्यावसायिक चेतनाको विकास र कृषि विकास बैंकले ऋण दिन थालेपछि बाँसखर्कमा २०३० को दशकमा सुन्तलाखेती विस्तार हुन थालेको अगुवा किसान बताउँछन् ।

    लुम्लेको कृषि अनुसन्धान केन्द्रमा काम गर्ने बाँसखर्कका सेवानिवृत्त गोर्खा सैनिकहरुको पहलमा सुन्तलाका बिरुवाको बजारीकरण हुने भएकाले केही किसानले नर्सरी पनि सञ्चालन गरेका थिए । वार्षिक रु २३ लाखको सुन्तला बेच्ने शान्तबहादुर छिन्तेल आफूहरुको आर्थिक हैसियतमा धेरै परिवर्तन आएको बताउनुभयो । “धान, कोदो र मकैखेती गरेर छ महिना पनि खान पुग्दैनथ्यो, छोराछोरी पढाउन र घरव्यवहार चलाउन विदेश जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले आफू आत्मनिर्भर र स्वरोजगार भएर पनि अरुलाई समेत बगैँचामा काम दिन सक्ने भएका छौँ ।”

    बाँसखर्कको एक हजार ५०० रोपनी क्षेत्रफलमा ५१ हजार १५१ सुुन्तलाका बोट छन् । सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार ७०६ बोटमा करिब रु २० करोडको सुन्तला उत्पादन भएको छ । गत वर्ष रु १८ करोड, २०८० मा रु ११ करोड र त्यसअघिको वर्ष रु १० करोडबराबरको सुन्तला बिक्री भएको थियो । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले उत्पादन बढेको हो । 

    “थप २४ हजार ४४५ सुुन्तलाको बोट बगैँचामा हुर्किरहेका छन्”, खत्रीले भन्नुभयो, “सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु चार लाखदेखि ४० लाखसम्म आम्दानी गर्छन् ।” सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ । 

    बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको र हिउँदमा गाईभैँसी, भेडाबाख्राको गोठ राख्ने भएकाले बाँसखर्क रहन गएको किंवदन्ती छ । पुरानो बाँसखर्कको पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको छ ।

    सुन्तला बगैँचा अवलोकन गर्न पर्यटक आउँछन् । म्याग्दी र पर्वतलाई समेटिएको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशविन्दु बाँसखर्क हो । माथिल्लो बाँसखर्कमा घरबास सञ्चालन भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend