images

२०८३ आश्विन १७ गते

images
images
images

कोइलाबास भन्सारको राजस्व संकलन न्यून

कोइलाबास भन्सारको राजस्व संकलन न्यून

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौँ, ११ माघ । दाङ– कोइलाबास भन्सार कार्यालयको चालु वर्षको ६ महिने अवधिमा राजस्व संकलन न्यून रहेको छ । उक्त भन्सारले लक्ष्यभन्दा आठ लाख ७३ हजार रुपैयाँ कम राजस्व संकलन गरेको हो । भन्सार कार्यालयले ६ महिनासम्म ८४ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । पुस मसान्तसम्म ७६ लाख रुपैयाँ संकलन भएको कोइलाबास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९.७२ प्रतिशत हो ।

    images
    images

    कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा नौ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन लक्ष्यको ७२.९७ प्रतिशत हो । भदौमा १४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ लाख रुपैयाँ, असोजमा १४ लाखको लक्ष्यमा आठ लाख, मंसिरमा १३ लाख ८३ हजारको लक्ष्यमा आठ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । तर,पुसमा भने १३ लाखको लक्ष्यमा ३३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    यो लक्ष्यको २४६.९५ प्रतिशत हो । पुसमा लक्ष्यभन्दा १९ लाख ६९ हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो । यो महिनामा भारतीय पर्यटकहरू बढी आएकाले राजस्व संकलन बढेको भन्सार कार्यालयले जनाएको छ । ६ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भए पनि आउँदा दिनमा लक्ष्य अनुसार राजस्व संकलन हुने कार्यालयले बताएको छ । नेपालको पछिल्लो घटना क्रमले गर्दा नेपाल आउने भारतीय पर्यटकहरू कम हुँदा राजस्व कम संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    नाकामा भारतीय पक्षबाट कडाइ गरेपछि आवतजावत कम भएकोले राजस्व संकलनमा प्रभाव परेको हो । भारत प्रवेशमा कडाइ गरेको कारण यहाँबाट आवतजावत गर्नेहरूको संख्या घट्दै गएको छ । यो बाटो भई भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजात भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयहरूको भनाइ छ । जसले आवतजावत कम हुने गरेको हो ।

    ‘कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो’ कार्यालय प्रमुख बिष्टले भने । सामान ल्याउने थोरै मात्र रहेका छन् । ‘नजिकै रहेका नागरिकहरूले मात्र सामान ल्याउने गरेका छन् । व्यापारीहरूले यहाबाट ल्याउने गरेका छैनन्’ उनले भने । यस नाकामा भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको प्रमुख विष्टले बताए ।

    भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट राजस्व उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलाबास क्षेत्रसँगै कोइलाबासमा रहेको रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।

    सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको कार्यालय प्रमुख बिष्टले बताए । व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । ‘यहाँ उठ्ने राजस्व भनेको सवारीसाधनबाट उठ्ने कर नै हो’ उनले भने । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा विकास भएको तथ्यांकले देखाएको छ।

    व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्नेभन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको छ । दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान यो नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend