काठमाडौँ। चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो छ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन। पुस ३० गतेसम्म सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन पुस मसान्तसम्मको लक्ष्यको ८१.७५ प्रतिशत मात्र हो।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। यसमध्ये पुससम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ उठाउने लक्ष्य भए पनि करिब १ खर्ब ३० अर्ब रुपैयाँ राजस्व कम उठेको देखिएको छ।
पुस महिनामात्रै १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ। यो लक्ष्यको ८९.९६ प्रतिशत हो। राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
गत वर्षको तुलनामा सुधार, तर लक्ष्य अझै टाढा
गत आर्थिक वर्ष २०८१।८२ मा सरकारले पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यस्तै, सो वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो। चालु वर्षमा अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि लक्ष्य अनुसारको प्रगति भने हासिल हुन सकेको छैन।
अर्थविद्हरूका अनुसार आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउनु, आयातमा निरन्तर सुस्तता र कर प्रणालीको प्रभावकारितामा देखिएका कमजोरी नै राजस्व लक्ष्य हासिल हुन नसक्नुका मुख्य कारण हुन्।
सरकारले बाँकी महिनामा राजस्व सङ्कलन वृद्धि गर्न कर प्रशासन सुधार, राजस्व चुहावट नियन्त्रण तथा आर्थिक गतिविधि चलायमान बनाउने नीतिगत उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने चुनौती बढ्दै गएको छ।




.gif)





