images

२०८३ आश्विन १७ गते

images
images
images

सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति तीन गुणा तीव्र गतिले बढ्यो

सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति तीन गुणा तीव्र गतिले बढ्यो

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौँ । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुवात भएसँगै अक्सफामले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले विश्वभर बढ्दो आर्थिक असमानताको भयावह तस्बिर बाहिर ल्याएको छ। ‘रेजिस्टिङ द रुल अफ द रिच’ शीर्षकको प्रतिवेदनअनुसार सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति इतिहासकै उच्च विन्दुमा पुगेको छ। अर्बपतिहरूको सम्पत्तिमा भएको यो वृद्धि विगत पाँच वर्षको औसतभन्दा तीन गुणा तीव्र देखिएको छ। तर, यसको ठिक विपरीत विश्वको ठुलो जनसङ्ख्या गरिबी र भोकसँग लडिरहेको छ।प्रतिवेदनअनुसार सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति १६ प्रतिशतभन्दा बढीले बढेर १८.३ ट्रिलियन डलर पुगेको छ। सन् २०२० यता मात्रै उनीहरूको सम्पत्ति ८१ प्रतिशतले बढेको छ। गत वर्ष मात्रै अर्बपतिहरूको सामूहिक सम्पत्ति २.५ ट्रिलियन डलरले बढेको छ, जुन विश्वका ४ अर्ब १० करोड गरिब मानिससँग भएको कुल सम्पत्ति बराबर हो। विश्वमा पहिलो पटक अर्बपतिहरूको सङ्ख्या ३ हजार नाघेको छ भने एलन मस्क आधा ट्रिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बनेका छन्। अर्बपतिहरूको सम्पत्तिमा भएको पछिल्लो वृद्धिले विश्वको चरम गरिबीलाई २६ पटकसम्म पूर्ण रूपमा उन्मूलन गर्न सकिने क्षमता राख्छ।

    images
    images

    विश्वमा सम्पत्तिको यो थुप्रो लाग्दै गर्दा नेपालको अवस्था पनि कहालीलाग्दो देखिएको छ। नेपालमा सबैभन्दा धनी १ प्रतिशतसँग भएको सम्पत्ति सबैभन्दा गरिब ५० प्रतिशत जनसङ्ख्याको तुलनामा ५१९ गुणा बढी छ। तथ्याङ्कअनुसार नेपालका गरिब ५० प्रतिशत जनसंख्यासँग देशको केवल ४.७ प्रतिशत सम्पत्ति छ भने १ प्रतिशत धनीले २४.५ प्रतिशत सम्पत्ति ओगटेका छन्। यस्तै आयमा पनि ठुलो लैङ्गिक खाडल छ, जहाँ महिलाको श्रम आम्दानी पुरुषको तुलनामा मात्र २८ प्रतिशत रहेको छ।सम्पत्तिको यो असमान वितरणले नेपालमा खाद्य असुरक्षाको अवस्थालाई थप गम्भीर बनाएको छ। सन् २०१९ देखि २०२३ को बिचमा गम्भीर वा मध्यम खाद्य असुरक्षा भोग्ने नेपालीको सङ्ख्या ५ लाखले बढेको छ। हाल करिब ३६.६ प्रतिशत अर्थात् १ करोड ९ लाख नेपाली खाद्य असुरक्षाको चपेटामा छन्। विश्वभर पनि प्रत्येक चार जनामध्ये एक जनाले नियमित रूपमा पर्याप्त खाना नपाउने अवस्था छ।

    अक्सफामले अति–धनी वर्गले राजनीतिक शक्तिलाई आफ्नो मुठ्ठीमा लिएर अर्थतन्त्र र समाजका नियमहरू आफू अनुकूल बनाइरहेको दाबी गरेको छ। साधारण नागरिकको तुलनामा अर्बपतिहरू राजनीतिक पदमा पुग्ने सम्भावना ४ हजार गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकामा ट्रम्प प्रशासनले अर्बपति–पक्षीय एजेन्डा अघि बढाएको र यसले विश्वभरका कुलीनतन्त्रलाई बढवा दिएको अक्सफामको निष्कर्ष छ। धनी वर्गले चुनावलाई प्रभावित पार्ने र आफ्ना स्वार्थ रक्षाका लागि लोकतन्त्रलाई नै कमजोर बनाउने काम गरिरहेको अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहारले बताए।सञ्चार माध्यम र प्रविधिमा पनि अर्बपतिहरूकै हालीमुहाली देखिएको छ। एलन मस्कको एक्स (ट्विटर), जेफ बेजोसको वासिङ्टन पोस्टलगायत विश्वका आधाभन्दा बढी ठुला मिडिया र सामाजिक सञ्जाल कम्पनीहरू अर्बपतिहरूको स्वामित्वमा छन्। यसले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको र घृणास्पद अभिव्यक्ति (हेट स्पिच) बढेको प्रतिवेदनले औँल्याएको छ। गत वर्ष मात्रै विश्वका एक चौथाइ देशले अभिव्यक्ति स्वतन्त्रता सीमित गरेका छन्।धनी र गरिबबिचको यो बढ्दो खाडलले राजनीतिक अस्थिरता निम्त्याएको र मानिसहरूको अधिकार खोसिएको अक्सफामको ठहर छ। यसलाई रोक्न सरकारहरूले अति धनीहरूको सम्पत्ति र आयमा उच्च कर लगाउनुपर्ने, राजनीतिमा पैसाको प्रभाव रोक्नुपर्ने र श्रमिक तथा नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव अक्सफामले दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend