काठमाडौं । पुनर्निर्माण पछि सञ्चालनमा आएको ऐतिहासिक धरहराबाट चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो छ महिनामा साढे चार करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ।
अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइका अनुसार साउन देखि पुस मसान्त सम्म धरहरा प्रवेश शुल्कबाट ४ करोड ४२ लाख ४२ हजार रुपैयाँ राजस्व उठेको हो। सो अवधिमा २ लाख ४२ हजार ८६३ जना पर्यटकले धरहराको अवलोकन गरेका छन्, जसमा २ हजार ५ जना विदेशी पर्यटक रहेका छन्। यस अवधिमा धरहरा १४७ दिन खुला रहेको थियो।
एकाइका प्रमुख महेश राईका अनुसार धरहरा हाल सातै दिन सञ्चालनमा छ। सुरुमा दैनिक १२–१५ सय पर्यटक आउने गरेकामा अहिले औसतमा २२–२३ सय तथा सार्वजनिक बिदाका दिन २७–२८ सय सम्म पुग्ने गरेको छ। पर्यटकमध्ये अधिकांश आन्तरिक रहेको र विदेशी पर्यटकको आगमन न्यून रहेको उनले बताए।
गत आर्थिक वर्ष २०८१।८२ मा मंसिर ९ गतेदेखि असार मसान्तसम्म धरहराबाट ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। उक्त अवधिमा करिब २ लाख ७० हजार पर्यटकले धरहराको अवलोकन गरेका थिए।
धरहरा हाल अन्तरिम रूपमा सञ्चालनमा रहेकाले प्रचारप्रसार न्यून भएको र पूर्ण रूपमा सञ्चालनमा आएपछि विदेशी पर्यटक लक्षित कार्यक्रम, कला–संस्कृति प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधि थपिने व्यवस्थापन एकाइले जनाएको छ। राज्यको पूर्ण स्वामित्वमा आएपछि धरहरालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको प्रमुख राईले बताए।
हाल धरहरामा १३ जना कर्मचारी कार्यरत छन् भने पूर्ण सञ्चालनमा आए पछि करिब ८० जना कर्मचारी आवश्यक पर्ने अनुमान गरिएको छ। वैशाखमा धरहरा राज्यको स्वामित्वमा आएपछि जेठ देखि ठेक्का मार्फत सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।
धरहरा अवलोकनका लागि नेपाली नागरिकलाई २०० रुपैयाँ, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइएको छ। १० वर्ष मुनिका बालबालिका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था छ।
सार्क राष्ट्रका पर्यटकका लागि ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।




.gif)





