काठमाडौं । आज २०८२ साल पुस २२ गते मंगलबार (सन् २०२६ जनवरी ६ तारिख) माघ कृष्ण पक्षको तृतीया तिथि परेको छ। हिन्दू धर्मशास्त्र अनुसार मंगलबार भगवान श्री गणेशको पूजा, अर्चना तथा व्रत गर्नाले शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने परम्परा छ। मंगलबारलाई गणेशजीको विशेष प्रिय दिन मानिने भएकाले यस दिन शुद्ध मन र श्रद्धासहित पूजा गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। मंगलबार व्रत बसेर गणेश आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक मान्यता छ।
१६ विधिबाट गणेश पूजा
धर्मशास्त्रमा भगवान गणेशको पूजा १६ विधिबाट गर्नुपर्ने उल्लेख छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती र परिक्रमा पर्दछन्। पूजा गर्दा शुद्ध र एकाग्र मनले संकल्प लिनु आवश्यक मानिन्छ।
मंगलबार नगर्नु पर्ने काम
धर्मशास्त्र अनुसार मंगलबार केही कार्य गर्नु अशुभ मानिन्छ। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा बुद्धि भ्रमित हुने विश्वास छ। यस दिन माछा तथा मासु सेवन गर्दा आर्थिक नोक्सानी हुने, मदिरा सेवन गर्दा क्रोध बढ्ने धार्मिक मान्यता रहेको छ।
गणेशजी र लड्डुको धार्मिक कथा
भगवान गणेशलाई सबैभन्दा प्रिय भोजन लड्डु हो। पद्मपुराणमा उल्लेखित कथाअनुसार पार्वतीदेवीले देवताबाट प्राप्त दिव्य लड्डु आफ्ना छोराहरू गणेश र कुमारमध्ये जसले सबै तीर्थ भ्रमण गरेर आउनेछ, उसैलाई दिने बताएकी थिइन्। कुमारजीले मयुरमा चढी सबै तीर्थ भ्रमण गरे भने गणेशजीले मातापिताको परिक्रमा गरेर नै सबै तीर्थ बराबरको पुण्य प्राप्त गरे। मातापिताको भक्ति श्रेष्ठ ठहरिँदा लड्डु गणेशजीलाई अर्पण गरियो।
यसैले गणेशजीलाई अर्पण गरिने लड्डु मातापिताप्रतिको भक्ति र श्रद्धाको प्रतीक मानिन्छ।
गणेशजीको महत्व
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान भएकाले गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन्। उनी ‘विघ्नेश्वर’का रूपमा सबै बाधा हटाउने देवता हुन् भने ‘विनायक’ अर्थात् सर्वश्रेष्ठ नायकका रूपमा पनि पूजिन्छन्। गणेशजीलाई मङ्गलदाता तथा गुणहरूको खानीका रूपमा धार्मिक ग्रन्थहरूले वर्णन गरेका छन्।
गणेश पूजा गर्दा जपिने ११ मन्त्र
धार्मिक विश्वास अनुसार यी ११ मन्त्र जप गर्दा भगवान गणेश शीघ्र प्रसन्न हुने मानिन्छः १ श्री गणेशाय नमः २ ॐ श्री गणेशाय नमः ३. गं गणपतये नमः ४. ॐ गं गणपतये नमः ५. ॐ गं ॐ गणाधिपतये नमः ६. ॐ सिद्धि विनायकाय नमः ७. ॐ गजाननाय नमः ८. ॐ एकदंताय नमो नमः ९. ॐ लम्बोदराय नमः १०. ॐ वक्रतुंडाय नमो नमः ११. ॐ गणाध्यक्षाय नमः




.gif)





