गलकोट, बागलुङ – १६ पुस, बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ सुरु गर्ने तयारी थालिएको छ। यसका लागि अस्पतालमा छुट्टै प्रयोगशाला निर्माण गरिने छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट नर्सिङ पढाइ सञ्चालन गर्ने नीति बनाएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार नर्सिङ पढाइका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु ७० लाख बजेट विनियोजन गरिएको छ। यस वर्ष भर्ना प्रक्रिया सकिएकोले आगामी वर्ष विद्यार्थी भर्नाका लागि तयारी गरिनेछ।
धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीका अनुसार यो तीन वर्षे नर्सिङ कोर्ष एसईई पछि पढ्न सकिन्छ र यसमा गर्भवती, सुत्केरी तथा शिशुको हेरचाहसम्बन्धी विषय पढाइनेछ।
साथै, आगामी वर्षदेखि ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ पनि सञ्चालन हुने छ, जसले तालिम प्राप्त मिडवाइफमार्फत सेवा प्रवाह सुनिश्चित गर्नेछ।
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो कि धौलागिरि अस्पतालको ५० शैय्याको स्तर १०० शैय्यामा स्तरोन्नति भएपछि नर्सिङ पढाइको बाटो खुलेको हो। यससँगै बागलुङका तीन अस्पतालको स्तरोन्नति समेत भएको छ।




.gif)





