images

२०८३ आश्विन १६ गते

images
images
images

मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन

मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • मुस्ताङ, १३ पुसः यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।

    images
    images

    अपाङ्गतामैत्री दुईतले अस्पताल भवन सुरुआती ठेक्का सम्झौता अनुसार २०७९ साल १ चैतमा सकिनुपर्ने थियो । तर अस्पताल भवनको छानो छाउने डिपिआर डिजाइनमा प्राविधिक त्रुटि देखिँदा भवन निर्माण केही वर्ष रोकिएको थियो । निर्माण कम्पनीले ‘भिओ’ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन, १३औँ संशोधन अनुसार अस्पताल भवनको म्याद २०८१ साल २ पुससम्म थप गरिएको थियो । त्यसपछि यहाँ निर्माणाधीन अस्पताल भवनको प्रि–डिजाइन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो ।

    निर्माणाधीन भवनको गण्डकी प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माणको ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको लागत अनुमान रु १६ करोड ३४ लाख रहेकामा रु १० करोड २१ लाखमा इमोटल कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । अपाङ्गतामत्री स्वास्थ्य सेवा प्रवाह गर्नेगरी प्रदेश अस्पतालको भौतिक संरचना निर्माण भएको घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए। भवन निर्माणको बजेट प्रदेश सरकारबाट र प्राविधिक पक्षको जिम्मा गाउँपालिकालाई अख्तियारी दिइएको सबइन्जिनियर कँडेलले उल्लेख गरे।

    images
    images

    अस्पताल भवनको भौतिक र वित्तीय प्रगति शतप्रतिशत भएको र निर्माण कम्पनीसँग भवनको परीक्षणकाल (डिएलपी)को अवधि रहेको सबइन्जिनियर कँडेलले बताए । उनले भने, “अस्पताल भवन निर्माण सकिएको छ, भवनमा विद्युत् र सेनेटरी पक्षमा आंशिक त्रुटि भएकाले सच्याउन लगाएका छौँ, निर्माण कम्पनीले त्रुटि सच्याएपछि भवन हस्तान्तरण हुनेछ ।”

    गण्डकी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याबाट २५ शय्याको अस्पताल भवनमा रुपान्तरण गर्न तत्कालीन समयमा यहाँ अस्पतालको भौतिक संरचना निर्माण सुरु गरेको हो । यहाँ अस्पताल भवनको ठेक्का सम्झौता भएको पाँच वर्षपछि भवनको भौतिक संरचना तयार भएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्य सेवालाई गुुणस्तरीय, प्रभावकारी र सेवामूलक तुल्याउनेगरी निर्माण गरिएको हो ।

     भवनमा ल्याब कक्ष, आपत्कालीन, प्रसूति, एक्सरे, अल्ट्रा साउन्ड, इसिजी कक्ष, बहिरङ्ग सेवा, सामान्य शल्यक्रिया, मेजर शल्यक्रिया, मेडिकल कक्ष, बिरामी बस्ने वार्डरुम र प्रशासनिक कक्ष र बैठक हललगायत संरचना निर्माण भएका सबइन्जिनियर कँडेलले जानकारी दिए । हाल जस्ताले छाएको ५० वर्ष पुरानो जीर्ण अवस्थाको भवनबाट सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या र चुनौती देखिएको थियो । नवनिर्मित अस्पतालको भवनबाट सेवा प्रवाह सुरु भएमा स्वास्थ्य सेवा प्रवाह सजिलो हुने अस्पतालका मेसु डा समीक्षा कँडेलले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend