काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्न स्वीकृति दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले २ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।‘२ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत भएको छ । तर, २ खर्ब रुपैयाँ नै एकैपटक जारी हुँदैन,’ डेपुटी गभर्नर मिश्र भन्छन्, ‘बजारमा तरलताको अवस्था हेरेर एक पटकमा बढीम ५० अर्ब र न्युनतम २० देखि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी हुन्छ।’बजारमा कर्जाको माग नहुने तर निक्षेप निरन्तर बढ्दा अधिक तरलता बढ्दै गएपछि केन्द्रीय बैंकले निरन्तर तरलता प्रशोचन गरिरहेको छ । केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमार्फत अल्पकालीन र मध्यमकालीन अवधिका लागि निरन्तर तरलता प्रशोचन गरिरहेको हो ।
त्यसले पनि मौद्रिक नीति ‘लिक्विडिटी ट्याप’ मा परेर मौद्रिक औजारको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि केन्द्रीय बैंकले ‘राष्ट्र बैंक ऋणपत्र’ मार्फत दीर्घकालीन अवधिका लागि तरलता प्रशोचन गर्ने भएको छ ।२ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत भएको हो । अब खुला बजार कारोबार समितिले स्वीकृत ऋणपत्र निकाष्सनको लागि निष्कासन तालिका तयार पार्नेछ ।केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमै राष्ट्र बैंक ऋणपत्रमार्फत बजारमा अधिक तरलता भएको रकम प्रशोचन गर्ने घोषणा गरेको थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुनेगरी खुला बजार कारोबार सञ्चालन गर्ने घोषणा गरेको थियो ।
तर, आर्थिक वर्षको दोस्रो त्रैमास सकिन लाग्दा पनि उक्त लक्ष्य हासिल गर्न नसकेको देखिन्छ । खुला बजार कारोबारका औजारहरूमध्ये केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल प्रयोगमा ल्याएको छ । त्यसले संरचनागत प्रकृतिको तरलता व्यवस्थापन प्रभावकारी बनाउन सकेको देखिँदैन ।गत असार अन्तिम साता चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ६ प्रतिशत र करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरेको थियो । साथै नीतिगत दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको लक्ष्यअनुसार भारित औसत अन्तरबैंक दर पनि ४.५ प्रतिशतको आसपास हुनुपर्ने थियो ।दशैं र तिहारको समयमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल पनि नगर्दा २.७५ प्रतिशत हाराहारी रहेको भारित औसत अन्तरबैंक दर त्यसको करिब पनि रहन सकेन । पछिल्लो केही समययता भने फेरि भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशतको करिब रहेको देखिन्छ ।
तर, यसले पनि मौद्रिक नीतिको लक्ष्य कायम हुन नसकेको र अन्तरबैंक ब्याजदर निरन्तर घटेको तथा निक्षेपको ब्याजदर पनि निरन्तर घटेपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरेको घोषणा अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको हो ।राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको थियो । यसका लागि राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । सोही अनुसार बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त ऋणपत्र जारी गर्न स्वीकृत गरेको हो ।बजारमा लगातार अधिक तरलता बढ्दै गएको छ । केन्द्रीय बैंकले पछिल्लो ३ आर्थिक वर्षदेखि नियमित रूपमा तरलता प्रशोचन गर्दै आएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा र सोही दरलाई कटअफ दर मानेर निक्षेप संकलन उपकरण बोलकबोल पनि गर्दै आएको छ । जसले गर्दा निरन्तर अधिक तरलता हुँदा पनि अन्तरबैंक ब्याजदर निक्षेप संकलन दर २.७५ प्रतिशतको वरिपरि मात्रै रहेको देखिन्छ ।
अब केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र जारी गरेर तरलता प्रशोचन सुरु गरेपछि भने भारित औसत अन्तरबैंक दरसमेत बढ्न सक्छ । त्यसले बैंकहरूले बचतको ब्याजदर समेत बढाउने र ब्याजदरमा थप गिरावटबाट रोकिने अवस्था आउन सक्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।राष्ट्र बैंकको पुस ८ गतेको तथ्यांकअनुसार अधिक तरलता भएर बैंकहरूले राष्ट्र बैंकको निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत राष्ट्र बैंकमा जम्मा गरेको रकम ८ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ थियो । ९ पुसमा उक्त रकम ५ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ छ ।




.gif)





