मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा बसोबास गर्ने अग्रणी नेपाली लेखक तथा पत्रकार शिव न्यौपानेले ह्याप्पी शो अष्ट्रेलिया कार्यक्रममा बलिउड सुपरस्टार आमिर खानसँग अन्तर्वार्ता लिँदाको अनुभव साझा गरेका छन्।
चार हजारभन्दा बढी अखबार लेख र छ वटा पुस्तक प्रकाशित गरिसकेका न्यौपाने नेपाली साहित्य र पत्रकारितामा विशिष्ट पहिचान बनाइसकेका व्यक्तित्व हुन्। उनी लेखन मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वहरूसँग गरिएको गहिरो र सन्तुलित अन्तर्वार्ताका लागि पनि परिचित छन्।
कार्यक्रममा उनले अमेरिकी दार्शनिक तथा लेखक कर्नेल वेस्ट, नेपाली सुपरस्टार राजेश हमाल र बलिउड अभिनेता आमिर खानसँगको अन्तर्क्रियाका अनुभवहरू सुनाए। ती अन्तर्वार्ताहरू उनले अष्ट्रेलियाको सामुदायिक पत्रिका द नेपाली टाइम्स अष्ट्रेलियामा प्रकाशित गरेका थिए।
आमिर खानसँगको अन्तर्वार्तामा चलचित्र पीके को ट्रेलरबारे प्रश्न गर्दा आमिरले आफूलाई फरक र विलक्षण शैलीमा प्रस्तुत गर्नु चुनौतीपूर्ण भए–नभएको विषयमा प्रतिक्रिया दिएका थिए।
उनले भने,“हेर्ने हरेक भूमिकाका आफ्नै चुनौती हुन्छन्। सबै भूमिका उत्तिकै कठिन हुन्छन्। अभिनेताको मुख्य काम भनेको पात्रको आत्मा बुझ्नु हो। जब त्यो बुझिन्छ, काम सहज बन्छ।”
कडा परिश्रमबारे प्रश्नमा आमिरले अभिनयलाई अरू कुनै पनि पेशाजत्तिकै चुनौतीपूर्ण बताए। साथै पीके को पोस्टरमा रेडियोले गोप्य अंग ढाकिएको देखिनुको प्रतीकात्मक अर्थबारे सोध्दा उनले हाँस्दै भने,“फिल्म नहेरी अर्थ बुझ्न गाह्रो हुन्छ। यदि मैले सबै कुरा भनिदिएँ भने फिल्म हेर्ने उत्सुकता नै घट्छ।”
शिव न्यौपानेले यस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग संवाद गर्नु आफ्नो पत्रकारिता यात्राको अविस्मरणीय क्षण भएको बताए।




.gif)





