काठमाडौं। ज्योति विकास बैंक लिमिटेडको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकहरूसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका कर्मचारी माथि गम्भीर आपराधिक आक्रमण भएको छ।
टेलिफोन मार्फत छलफलका लागि बोलाइए अनुसार बैंकको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका दुई जना कर्मचारी फर्म रहेको स्थानमा पुगेका थिए। तर छलफलका क्रममा ऋणी कम्पनीका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार आपराधिक मनोवृत्तिले सुनियोजित रूपमा घण्टौँसम्म कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको थियो, जसमा बहालवाला उपमेयर समेतको संलग्नता रहेको बताइएको छ। साथै, धितो लिलामी स्थगन सम्बन्धी निर्णय तत्काल केन्द्रीय कार्यालयबाट लिखित रूपमा नल्याएमा ज्यान लिने धम्की दिइएको बैंकको दाबी छ।
सुरक्षा निकायबाट तत्काल सहयोग नपाएपछि बैंक विकल्प विहीन अवस्थामा परी कर्मचारीको ज्यान जोगाउन बाध्य भई उक्त पत्र लेखिएको व्यहोरा बैंकले सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा प्रचलित ऐन–नियमको पालना गर्दै बैंकिङ व्यवसाय सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको विकास बैंकका कर्मचारी माथि भएको यस्तो घटना अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बैंकको भनाइ छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू अराजक र आपराधिक गतिविधिको निशानामा पर्दै आएको सन्दर्भमा यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ज्योति विकास बैंकले दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
यस किसिमका आपराधिक गतिविधि विरुद्ध बैंक सदैव कडा रूपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।




.gif)





