images

२०८३ आश्विन १८ गते

images
images
images

ग्रामीण जीवनशैलीमा रमाउन सकिने ‘मुदीगाउँ’ पाहुना र पर्यटकको पर्खाइमा

ग्रामीण जीवनशैलीमा रमाउन सकिने ‘मुदीगाउँ’ पाहुना र पर्यटकको पर्खाइमा

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • म्याग्दी, २६ मङ्सिरः पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू ।

    images
    images

    म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको सङ्गम हो । हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा रहेको वडाध्यक्ष यामबहादुर घर्तीले बताएका छन्।

    “संसारको सातौँ (८१६७) मिटर अग्लो धवलागिरि हिमाल यही मुदीगाउँ समेटिएको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसारको कमीले ओझेलमा परेको मुदीमा पर्यटन पूर्वाधार निर्माण र विस्तारसँगै प्रवर्द्धनमा जुटेका छौँ ।”

    images
    images

    नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार एक वर्षअघि भएको अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए ।

    मुदीगाउँभित्रका गल्लीमा सरसफाइ, ढल व्यवस्थापन र ढुङ्गा बिछ्याएर चिटिक्क पारिएको छ । मुदीगाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाडाँमा भ्यु प्वाइन्ट (दृश्य अवलोकन)स्थल बनाइएको छ । भ्यु प्वाइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाडाँबाट हिमालका अलावा छिमेकी बस्ती, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

    समुद्री सतहदेखि दुई हजार ५०० मिटरमा अवस्थित मुदीका अधिकांश घर परम्परागत शैलीका ढुङ्गे छन् । मुदीका करिब दुई सय ५० मध्ये २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुरख्र्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गीतले पाहुनालाई स्वागत गर्ने चलन छ ।

    मुदीदेखि धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ । यहाँको लेकमा वैशाख जेठमा यार्सागुम्बा र असोज कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाईभैँसीपालन गर्ने गोठालाको दिनचर्या र जीवनशैली अध्ययन गर्न सकिन्छ ।

    म्याग्दी सदरमुकाम बेनीदेखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ । बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको मुदीका लागि आवतजावतका लागि  जिप चल्छन् ।

    मुदीमा पाहुना र पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) सञ्चालन भएको छ । होमस्टेका सञ्चालक गौबहादुर राम्जालीले सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि पाहुना आउन थालेका बताएका छन्।

    “पाहुनालाई घरायसी वातावरणमा खानेबस्ने व्यवस्था मिलाउनका लागि आठ–दश वर्षअघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर होमस्टे चलाएको हो”, उहाँले भन्नुभयो, “लोकल कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडोको स्वाद चखाउने गरेको छु ।”

    उक्त होमस्टेमा एक दिनमा २० देखि ३० जना सहजै बास बस्न सक्छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिरकालिज जस्ता दुर्लभ वन्यजन्तु र पन्छी पाइने भएकाले पर्यापर्यटनको हिसाबले पनि सम्भावना देखिएको बताएका छन्।

    मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै धवलागिरि आरोहण दिवस हिमाल भएको वडा मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सम्बद्ध गैरसरकारी संस्थालाई अनुरोध गरिएको बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend