काठमाडौं । केही नक्कली अभियन्ताहरुले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बार्गेनिङ गरेर स्वार्थ लुट्न खोजेको भन्दै त्यहाँ कार्यरत कर्मचारीले आक्रोश पोखेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नक्कली धन्दा बन्द गर्न चेतावनी पनि दिएका छन् ।रिलायन्समा २९ वर्षदेखि कार्यरत मधुसुदन लुइँटेलले पूँजी बजारका स्वघोषित लकगानीकर्ता, नक्कली अभियन्ता, नामधारी ‘रिटबहादुरहरु’ले बार्गेनिङ गर्ने उद्देश्यले पटकपटक रिटको सहारामा २० औं हजार लगानीकर्ताको लगानी बन्धक बनाएको र सयौं श्रमिकहरुको रोजगारी खोस्ने तथा औद्योगिक वातावरण ध्वस्त पार्ने दुष्प्रयास गरेको बताए । उनले भने, ‘उद्योगले म लगायत यहाँ कार्यरत कर्मचारी र तिनका परिवारलाई प्रत्यक्ष लाभ पुगेको छँदैछ भने अप्रत्यक्ष रूपमा लाखौंलाई लाभ नै पुगेको छ । मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान पुगेको छ, तसर्थ यो स्तरको राष्ट्रिय उद्योगको संरक्षण गर्नु तपाईँ–हामी सबैको कर्तव्य हो ।’ लुइँटेलले बार्गेनिङ र नकारात्मकता बेचेर आफ्नो झोला भर्न खोज्ने हरुको पछि नलाग्न र ढुक्कसँग लगानी गर्न पनि आग्रह गरे ।
रिलायन्समा १५ वर्षदेखि कार्यरत अर्का कर्मचारी एसपी उप्रेतीले केही सीमित व्यक्तिहरुले ‘सार्वजनिक हित’को नाममा ‘बार्गेनिङ’ गरेर देशको ठूलो उद्योग र उद्योगमा आश्रित कर्मचारी तथा मजदुरको भविष्यमाथि खेलवाड गरिरहेका बताए । ‘हामीले यहाँ केवल तलब मात्र होइन, प्रत्येक वर्ष कम्पनीको नाफाबाट राम्रो बोनस पनि पाउँदै आएका छौं । यस कम्पनीले गर्दा आज म स्वदेशमै रहेर श्रम गरी आफ्नो घर–परिवार पाल्न सकेको छु,’ उनले केही व्यक्तिको नामै उल्लेख गरेर भने, ‘तर आज केही ‘नक्कली अभियन्ता’हरूले झूठो मुद्दा र मिडियाबाजी गरेर हाम्रो रोजीरोटी खोस्न खोज्दैछन् ।’ आफूहरु उत्पादन र रोजगारीको पक्षमा रहेको बताउँदै उप्रेतीले ‘बार्गेनिङ बन्द गर र देश बन्न देउ’ भने । करिब चार हजार पाँच सयलाई रोजगारी दिएको, वार्षिक ५० करोड डलरको बस्तु निर्यात गरेर अर्थतन्त्रमा टेवा पुर्याएको र राम्रो नाफा आर्जन गरिरहेको रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको स्वीकृति पाएसँगै पूँजी बजारलाई बार्गेनिङ गरेर खान पल्केका केही व्यक्तिहरुले कम्पनीविरुद्ध भ्रम सिर्जना गरेको कर्मचारीहरुको आरोप छ ।
आईपीओ निष्काशनसँगै कम्पनीमा आफूहरुको शेयर रहने र पब्लिक लिमिटेडको कर्मचारी÷मजदुर हुने भएपछि उनीहरु उत्साही छन् । तर कम्पनी बाहिरबाट नकारात्मक सन्देश प्रवाह हुन थालेपछि उनीहरु आक्रोसित भएका हुन् । कम्पनीमा कार्यरत ममता गिरीले रिलायन्स एक उद्योगमात्र नभई हजारौं परिवारको आशा, वर्षौंको पसिना र भविष्यको सपना भएको बताइन । उनले भनिन, ‘यो उद्योग मेरो मात्र होइन, हजारौं नेपाली परिवारको रोजगारी, राजीरोटी र भविष्यसँग जोडिएको छ । यही कारण हाम्रो परिवार चलेको छ । घरको सपना पूरा भएको छ । म व्यक्तिगतरुपमा भन्न चाहन्छु– विवाद, बार्गेनिङ र भ्रमले होइन, समाधान, संवाद र उत्पादनले देश अघि बढोस् ।’ममताको जस्तै भनाइ रमेश अधिकारीले राखेका छन् । उनले कोही नक्कली अभियन्ता बनेर समाज र सिंगो देशको औद्योगिक क्षति र आर्थिक तथा सामाजिक वातावरणलाई धमिलो बनाउन लागिरहेको बताए । ‘रिलायन्समा म १५ वर्षदेखि काम गरिरहेको छु, यहाँ मजस्तै ४५०० जनाले पसिना बगाउनुभएको छ,’ उनले प्रश्न गरेका छन्, ‘तर आज आईपीओ बन्द गराउने खेलमा लाग्नु देश, समाज र परिवारको हितमा छ त ?’
अर्का कर्मचारी कञ्चन पौडेलले केही नक्कली अभियन्ताहरुको कारण आफूहरुको रोजगारी संकटमा परेको गुनासो गरे । ‘हामी यहाँ काम गरेर परिवारलाई खुसी र समृद्धि दिन्छौं, उनले भने, ‘तर केही नक्कली अभियन्ताहरुले झुठा आरोप र मिडियाबाजी गरेर हाम्रो रोजगारी र उद्योगलाई संकटमा पार्दैछन् ।’रिलायन्समा कार्यरत कर्मचारी तथा मजदुरहरुले बार्गेनिङको विरोध गर्दै त्यसविरुद्ध सामूहिक रुपमा लड्ने चेतावनी दिएका छन् । उनीहरुले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपालको पूँजी बजारमा बार्गेनिङ गर्ने, अदालतको आशय र आदेशलाई अटेर गर्दै पटक–पटक अदालतमा रिट लिएर जाने केही व्यक्ति तथा समूहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।





.gif)





