images

२०८३ आश्विन १७ गते

images
images
images

बीमाका लागि पशुको नामसारी अनिवार्य

बीमाका लागि पशुको नामसारी अनिवार्य

images
images
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • चितवन । पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बीमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बीमा नगर्न आग्रह गरिएको हो ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आयोजना गरेको पशु बीमासम्बन्धी त्रिपक्षीय अन्तरक्रियामा सहभागीले पशुको नामसारी नहुँदा बीमामा दोहोरो पर्ने गरेको बताएका हुन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले पशुको बीमामा देखिएको समस्या समाधान गर्न सरोकारवालाले ध्यान नदिएको बताए । 

    images
    images

    उनले भने, ‘बीमामा देखिएको समस्या कम्पनीले समाधान गर्न आवश्यक छ, बीमा गरिएका पशुमा लगाइएको बीमाको ट्याग बिग्रने, फुत्कनेदेखि धेरै समस्या भएकाले यसलाई सहजीकरण गर्न आवश्यक छ ।’ पशु बीमा गरेपछि समय नसकिँदै गरेका पशु बिक्री गर्दा किसान ठगिने गरेको उनको गुनासो थियो । उनले भने, ‘पशु नामसारीका लागि बीमा कम्पनीले के सोचेको छ ?’सोही अवसरमा सङ्घका सचिव कल्याण अधिकारीले दुग्ध उत्पादक किसानले पशुको नामसारीमा बीमा कम्पनीले ध्यान दिन नसकेको बताए । उनले भने, ‘सहकारीले एउटा पोलेसीबाट गर्दा सम्भव नहुने र किसानले बीमा गर्दा एकपटक बीमा अभिकर्ता गएपछि दोहोर्‍याएर नजाने गर्दा समस्या बढेको हो ।’

    बीमा अभिकर्ताले बीमा कम्पनीलाई पैसा नदिई बीमा गर्ने गरेको उनको भनाइ थियो । सोझा साझा जनताले बीमा बापतको रकमसमेत पाउन कठिन हुने गरेको उनले बताए । वन्यजन्तुको आक्रमणका कारण हुने क्षतिपूर्तिको समेत बीमामा समावेश गर्न उनले आग्रह गरे ।कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका उपसचिव पुरुषोत्तम शर्माले वन्यजन्तुका कारण भएको क्षतिमा सरकारले राहतको व्यवस्था गर्ने गरेको बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको समस्या सामुदायिक वनको सिफारिस र राष्ट्रिय वन क्षेत्रमा डिभिजन वन कार्यालयको सिफारिसमा राहतको व्यवस्था गरिएको उनले बताए ।नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले पशु बिक्री वितरण गरेको तीन महिनासम्म बीमामार्फत नामसारी गर्नका लागि निःशुल्क हुने भन्दै दोहोरिने गरी बीमा नगर्न बीमा प्रदायक कम्पनीलाई निर्देशन दिए । उनले भने, ‘राज्यको सम्पत्ति दुरुपयोग गरेको अभियोग लाग्न सक्छ, बुझेर काम गर्नुस् ।’

    images
    images

    पशु बीमा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको बताउँदै उनले समस्या समाधानका लागि बीमा अभिकर्ता चनाखो हुन आग्रहसमेत गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले पशुपालन गर्ने किसानले बीमा कम्पनीबाट पाएको दुःखका बारेमा जानकारी दिए । अहिले जिल्लामा एक लाख गाई र ७० हजार भैँसी पालिएको जानकारी दिँदै उनले बीमा कम्पनीलाई छिटोछरितो सेवा दिनका लागि आग्रहसमेत गरे । उनले भने, ‘बफमाको दाबी भुक्तानीमा बीमा कम्पनीले दिएको समस्या समाधान नभए किसानलाई कठिन हुने र बीमा गर्नसमेत किसान आउन छाड्ने अवस्था आउने छ ।’ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend