काठमाडौँ । अभिनेता कामेश्वर चौरसिया र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आजै बिहीबारबाट प्रदर्शनमा आएको छ । नयाँ नेपाली फिल्म फ्राइडे रिलिज अन्तर्गत शुक्रबार गर्ने परम्परा रहे पनि चाडपर्वमा भने अन्य दिन पनि रिलिज हुँदै आएका थिए ।‘अभिमन्यु’ पनि धान्य पूर्णिमा, उधौली पर्व बिदाको अवसर पारेर प्रदर्शनमा आएको हो । हलमा राम्रो शो पाएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । कामेश्वर र लक्ष्मीको अलवा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय रहेको फिल्ममा अतिथि भूमिकामा रेखा थापा पनि छिन् ।
मुकेश खनालको लेखन रहेको फिल्मको गत सोमबार प्रिमियर भएको थियो । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मले दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा राखेको छ । फिल्मबाट आफूले राम्रो अपेक्षा गरेको अभिनेता कामेश्वरले बताए । ‘हामीले फिल्म मेकर, कलाकार र पत्रकारलाई फिल्म देखाएका थियौ’, उनी थप्छन्– ‘सबैबाट राम्रो प्रतिक्रिया मिलेकोले उत्साहित छौ ।’मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतो डिओपी रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स र मदन घिमिरे सम्पादक छ । फिल्म नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी रूपमा रिलिज भएको हो ।




.gif)





