काठमाडौँको हाडिगाउँमा मिति २०५१ साल चैत्र २ गते मध्यमवर्गीय परिवारमा जन्मिएका अबिनाश श्रेष्ठको बाल्यकाल गहनापोखरी नजिकैकै वातावरणमा बित्यो। परिवारको एकमात्र सन्तान भएका अबिनाश सानैदेखि शान्त, अन्तर्मुखी र एकान्तप्रिय स्वभावका थिए। अध्ययनसँगै उनलाई नचिनिने तर गहिरो रूपमा संगीतप्रतिको रुचि पनि जाग्दै गयो। फुर्सदमा गीत गुनगुनाउँदै बस्ने उनको पहिलो औपचारिक प्रस्तुति काठमाडौँ सभागृहको स्टेजमा भयो, जसले उनको जीवन मोडिदियो।
साथीहरूका हौसलाले प्रेरित भए पनि उनले संगीतलाई करियर बनाउने स्पष्ट योजना भने बनाएका थिएनन्। तर पहिलो प्रस्तुति सफल भएपछि उनले आफ्नो भविष्य संगीत क्षेत्रमा पनि हुनसक्ने अनुभूति गरे। त्यसै क्रममा भेटिएका संगीत प्रशिक्षक उमेशराज खड्कासँग उनी औपचारिक रूपमा संगीत सिक्न थाले र निरन्तर साधनामा लागिरहे।
केही वर्षको अभ्यासपछि उनले उमेशराज खड्काको संगीतमा ‘हानौकी नजर’ बोलको गीत रेकर्ड गरी भिडियो सहित सार्वजनिक गरे। गीतले अपेक्षित व्यावसायिक सफलता नपाए पनि उनलाई गायकको रूपमा पहिचान दिलायो। नेपालमा संगीत क्षेत्रमा भविष्य त्यति उज्यालो हुँदैन भन्ने आम धारणा र परिवारको प्रारम्भिक असमर्थनका कारण उनले गीतको अडियो–भिडियो निर्माणका लागि आफैंले पैसा जम्मा गर्नुपरेको अनुभवहरू आज पनि उनी सम्झिन्छन्।
२०७७ सालमा भने अबिनाशको करियरले नयाँ मोड लियो। चर्चित गायिका मेलिना राईसँगको ‘माया बिरानो’ बोलको गीत सार्वजनिक भयो, जसको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री गरिमा शर्माले अभिनय गरेका थिए। यो गीतले उल्लेखनीय सफलता पायो र अबिनाशलाई व्यापक पहिचान दिलायो। यसकै आधारमा उनी Nepal Music & Fashion Award र Music Khabar Award दुवैबाट सर्वोत्कृष्ट नवगायक घोषित भए। गीत सफल भएपछि परिवारबाट पनि उल्लेखनीय सहयोग र प्रोत्साहन प्राप्त गर्न थालेको उनी बताउँछन्।
२०७८ सालमा उनले लोकप्रिय गायिका रचना रिमालसँग ‘मुसुक्क हासीदेउ’ सार्वजनिक गरे, जसको भिडियोमा महानायक राजेश हमाल र अभिनेत्री उषा उप्रेतीले अभिनय गरेका थिए।
हालै २०८२ साल मंसिर ५ गते उनले चौथो गीत ‘लाखै हुन्छ है’ सार्वजनिक गरेका छन्। उक्त गीतमा अबिनाश श्रेष्ठ र समीक्षा अधिकृतको स्वर रहेको छ भने शब्द राजु बाबु श्रेष्ठका, संगीत राजन–राजु शिवाकोटीका रहेका छन्।
जुनसुकै गीतमा आफ्नो कला पोख्न सक्षम अबिनाश आजको सफल यात्राको श्रेय आफ्ना बाबु–आमालाई दिन्छन्। “मेहनत गरेर राम्रो गीत बजारमा ल्याउन सकियो भने सफलता अवश्य प्राप्त हुन्छ,” उनको भनाइ छ।




.gif)





