काठमाडौँ । मंसिर १०, मिथिलाको प्राचीन राजधानी जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा यस वर्ष पनि राम–सीता विवाहपञ्चमी धुमधामका साथ मनाइएको छ। भगवान् राम र देवी सीताको पौराणिक विवाहलाई स्मरण गर्दै आयोजित विवाह महोत्सव शुक्रबार विधिपूर्वक सम्पन्न गरिएको हो।
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको वैवाहिक बन्धन भएको धार्मिक विश्वास छ। मिथिलाका राजा जनकले सीताको स्वयंवरका लागि राखिएको शिवधनुष भाँचेपछि अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामसँग सीताको विवाह सम्पन्न भएको उल्लेख छ।
मिथिलाली परम्परा अनुसार मटकोर, तिलकोत्सव, स्वयंवरदेखि विवाह संस्कार सम्मका सबै विधि भव्य रूपमा सम्पन्न गरियो। जनकपुरस्थित राम मन्दिरबाट भगवान् रामको प्रतिमालाई विशेष रूपमा सजाइएको डोला सिंहासनमा राखेर बाजागाजा र झाँकी सहित रङ्गभूमितर्फ ल्याइयो। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रङ्गभूमिमा पु–याइएको थियो।
रङ्गभूमिमा वैवाहिक विधिहरू सम्पन्न गरेपछि दुवैलाई पुनः जानकी मन्दिरमा ल्याई मिथिलाली संस्कृतिअनुसार विवाह सम्पन्न गराइएको जनाइएको छ।
विवाह महोत्सवको डोला शोभायात्रामा नेपालका विभिन्न क्षेत्रसँगै भारतबाट आएका हजारौँ भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको आयोजकहरूले बताएका छन्।




.gif)





