काठमाडौँ । मंसिर ९, त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र माता सीताको विवाह सम्पन्न भएको स्मृतिमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । खासगरी मिथिलाको सांस्कृतिक एवं धार्मिक केन्द्र जनकपुरधाममा आज राम सीताको ऐतिहासिक विवाहलाई पुनःअभिनीत गर्दै भव्य विवाह महोत्सव आयोजना हुँदैछ।
गोस्वामी तुलसीदासले वर्णन गरेको रामायणका आधारमा मिथिलावासीले यस दिनलाई विशेष पर्वका रूपमा मनाउने परम्परा रहेकाले जनकपुरधाममा भक्तजनको घुइँचो लागेको छ। मिथिलाका राजा जनकले राखेको सीताको स्वयंवरमा अयोध्याका युवराज रामले शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन दुवैको विवाह भएको विश्वास रहिआएको छ।
स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको धार्मिक मान्यता अनुसार आज पनि देवताको अदृश्य सहभागितासहित जनकपुरधाममा मटकोर, तिलकोत्सव, स्वयंवर र वैवाहिक संस्कार गरी पर्व मनाइन्छ। राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको डोला र जानकी मन्दिरबाट सीताको डोला रङ्गभूमितर्फ लैजानु, त्यहाँ वैवाहिक प्रक्रिया पूरा गरी पुनःजानकी मन्दिरमै विवाह सम्पन्न गर्नु महोत्सवको मुख्य आकर्षण हो।
राम सीताको डोला शोभायात्रामा देशका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ श्रद्धालुको सहभागिता रहने गर्दछ। रङ्गभूमिमा वरबधुपक्षबीच हुने हाँसो ठट्टा, प्रतीकात्मक झाँकी र व्यापक जनउपस्थिति आज पनि वास्तविक विवाहको वातावरण झल्किने गरी प्रस्तुत हुन्छ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्लो दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रम सहित चार दिनसम्म मनाइने गरिएको छ। भक्तजन बिहानै देखि पवित्र सरोवर तथा नदीमा स्नान गरी पूजाअर्चना, भजन कीर्तन, झाँकी, रामलीला र प्रवचनमा सहभागी हुन्छन्। विवाह महोत्सवमा सरिक भएपछि मनोकामना पूरा हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ।
आज राष्ट्रियस्तरमै राम सीता मन्दिरहरूमा विशेष पूजा आराधना तथा महोत्सव सहित विवाहपञ्चमी मनाइँदैछ। साथै, आज विवाह गर्न साइत नचाहिने धार्मिक मान्यता पनि रहेको छ।




.gif)





