काठमाडौँ । मंसिर ०७, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै प्रसाईँलाई तुरंत रिहा गर्न आदेश दिएको हो।
प्रसाईँका छोरा निराजन प्रसाईँले गैरकानुनी रूपमा बुवालाई थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो।
प्रसाईँलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउ हुनु केही घण्टाअघि मात्र उनले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रश्न उठाएका थिए तथा सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आजदेखि आन्दोलन थाल्ने घोषणा गरेका थिए। आन्दोलनको तयारीकै क्रममा उनी पक्राउ परेका थिए।
सर्वोच्चको निर्णयसँगै अब प्रसाईँ रिहा हुने निश्चित भएको छ।




.gif)





