काठमाडौँ । कार्तिक ३०,हुम्ला, सिमकोट,नेपालगन्ज हवाई टिकट वितरणमा पारदर्शिता र सहजता कायम गर्नुपर्ने माग सहित हुम्लाका युवाले लगाएको ताला खोलिएको छ। सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा मिलोमतो, पक्षपात र चिठ्ठा प्रणालीले बढाएको अन्योलताप्रति आपत्ति जनाउँदै तीन निजी एयरलाइन्सका कार्यालयमा शुक्रबार ताला लगाएका थिए।
शनिबार सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले नयाँ व्यवस्था सहित सहमति गरेपछि ताला खोलिएको हो।
प्रजिअ रेग्मीका अनुसार प्रत्येक उडानमा, टिकट अनिवार्य रूपमा बिरामीका लागि राखिनेछ। साथै टिकट सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा वितरण गरिनेछ। त्यस्तै टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट उपलब्ध गराउनेछन्।
सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा प्रत्येकी एक–एक टिकट छुट्याइने निर्णय भएको छ। बाँकी टिकट एयरलाइन्सले प्राथमिकता र आवश्यकताका आधारमा वितरण गर्नेछन्।
यससँगै सिमकोट–५ र ६ ले पहिलोपटक आरक्षित सिट पाउने व्यवस्था लागू भएको छ। १५ सिट क्षमताको विमानमा यसअघि सुनसुनाइ र भनसुनका आधारमा टिकट वितरण हुँदै आएको स्थानीयको गुनासो थियो।
यो नयाँ व्यवस्था सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सिमकोट विमानस्थलमा हुने सबै उडानमा लागू हुने प्रजिअ रेग्मीले जानकारी दिए।
शुक्रबार बिहान युवाहरुले एयरलाइन्स कार्यालयमा ताला लगाएपछि प्रशासनले सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय युवाहरू र एयरलाइन्स प्रतिनिधि सहभागी बैठक बोलाएर समस्या समाधान गरेको थियो।




.gif)





