काठमाडौं,२४ गते कार्तिक । कर्मचारी आन्दोलनका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ । अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो । बोर्डका सबै कर्मचारीहरू नियमित काममा फर्किएको नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताए । उनले सरकारले माग पूरा गर्ने सहमति जनाएपछि ‘शंकाको सुविधा’ दिएको उनले बताए ।
उनले एक साताभित्र माग पूरा नभए आफूहरू फेरि आन्दोलनमा फर्किनसक्ने अवस्था समेत रहेको बताए ।आइतबार बोर्डका मन्त्रालयले बोर्डलाई पठाएको पत्रबारे अध्ययन गर्न एउटा समिति गठन गर्ने सहमति जुटेको थियो । कानुन मन्त्रालयका सहसचिवको अध्यक्षता रहने उक्त समितिले कर्मचारीको सुविधासम्बन्धी नियमावलीमा रहेको व्यवस्था र उक्त पत्रको औचित्यबारे अध्ययन गर्ने आवश्यक सिफारिस गर्नेछ । समितिमा बोर्डका रहेका कर्मचारी संगठनहरूको प्रतिनिधित्व रहनेछ ।
बोर्डको कामकारबाही सुरु भएसँगै रोकिएका सेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका निकायको नियमित काम कारबाही सुरु हुनेछ । अहिले धितोपत्र बोर्डमा ७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर (आईपीओ) निष्कासनको प्रतीक्षामा रहेका छन् । त्यस्तै, झन्डै पौने ६ अर्बको हकप्रद शेयर तथा झन्डै २३ करोडको एफपीओ समेत निष्कासनको प्रतीक्षामा छन् ।
आफ्ना माग पूरा गर्न बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आएका कर्मचारीहरूले यो मागलाई होल्ड गरेका छन् । आफ्नो माग अर्थ मन्त्रालयको पत्र सच्याउनुपर्ने रहेको र यसमा अध्यक्षले सहयोग नगरेपछि राजीनामा मागे पनि पत्रको विषयमा सहमति भएसँगै उक्त माग समेत स्थगित भएको ढुंगाना बताउँछन् ।‘उहाँको कार्यशैलीको विषयमा केही समस्या भए मन्त्रालयले हेर्छ, यसमा हाम्रो सहयोग हुन्छ, हामीले गरेको मागमा सहमति भएकोले हामी यो विषयलाई अहिले छोडेका छौं,’ उनले भने ।




.gif)





