images

२०८३ आश्विन १८ गते

images
images
images

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान उत्साहित

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान उत्साहित

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बौदीकाली-५, बबकका किसान गेशबहादुर रानालाई यस वर्ष बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ।अघिल्ला वर्षमा बजार खोज्न धाउनुपर्ने र मूल्य कम पाइने गरेकामा यो वर्ष बगैँचामै व्यापारी आएर सुन्तला खरिद गर्दा सहज र लाभदायक भएको उनले बताए।

    images
    images

    रानाका अनुसार अहिले बबक गाउँका किसानहरूले प्रतिकिलो रु ६० देखि ६५ सम्ममा बगैँचाबाटै सुन्तला बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिकिलो रु ५० देखि ५५ मा बिक्री भएको सुन्तलाको मूल्य यसपालि बढेकाले किसानहरू उत्साहित भएका छन्।नवलपुरको पहाडी क्षेत्र यतिबेला सुन्तला टिप्न व्यस्त छ। बुलिङ्टार–५, राइकोटका किसान कृष्ण सारुका अनुसार यसपालि मौसम अनुकूल भएकाले दाना राम्रो लागेको र बजार मूल्य पनि सन्तोषजनक पाइएको छ। करिब एक हजार बोट सुन्तला भएका उनले गाउँमै बिक्री गर्न थालेका छन्।

    सारुले भने, “यस वर्ष दाना राम्रो लागेको छ, बजारमा माग पनि राम्रै छ। अहिले सुन्तला गाउँमै बिक्री भइरहेको छ, पछि के हुन्छ हेरौँ।” उनका अनुसार उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार र वरपरका क्षेत्रमा नै खपत भइरहेको छ।जिल्लाको बबक, राइकोट, जौवारी, ढोडेनी र देउरालीलगायतका पहाडी क्षेत्र सुन्तला उत्पादनका प्रमुख गाउँहरू हुन्। अहिले व्यापारीहरू बगैँचामै पुगेर सुन्तला खरिद गरिरहेका छन्। कतिपय व्यापारीहरूले फोनमार्फत अर्डर गरेर किसानबाटै सुन्तला पठाउन थालेका छन्।

    images
    images

    बबकका किसान रानाका अनुसार नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट पनि सुन्तलाको माग बढ्दो छ। उनले भने, “व्यापारीले राम्रै माग गरिरहेका छन्। अहिले मूल्य पनि स्थिर छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अब छैन।”रानाका अनुसार अघिल्ला वर्षमा किसानले आफैँ बजार पुर्याउँदा मूल्य निर्धारणमा समस्या हुने, ढुवानी खर्च र जोखिम बढ्ने गरेको थियो। तर अहिले गाउँमै मूल्य तय गरेर व्यापारीलाई पठाउँदा सजिलो भएको छ। स्थानीय व्यापारीहरूले समेत गाउँमै सुन्तला सङ्कलन गरी खरिद–बिक्री गर्दै आएका छन्, जसले किसानलाई थप सहजता दिएको छ।

    नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुन्तलाजात फलफूल जोन सञ्चालनमा आएपछि जिल्लामा व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएको छ। कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार अहिले जिल्लामा १८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ।गत आर्थिक वर्षमा नवलपुरमा करिब १,४०० टन सुन्तला उत्पादन भएको थियो। किसानहरूले त्यस वर्ष सुन्तला बिक्रीबाट करिब रु ८ करोड ९० लाख र कागती बिक्रीबाट रु १७ लाख ८६ हजार आम्दानी गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend