काठमाडौँ । कात्तिक १०, विराटनगर डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि सुनसरीको इटहरी उपमहानगर–१२ खनारस्थित देशकै ठूलो रिलायन्स स्पिनिङ मिल्स एक साता देखि पूर्ण रूपमा बन्द भएको छ।
प्राधिकरणले कात्तिक ४ गते उद्योगको विद्युत् लाइन काटेको थियो। २०५१ सालमा स्थापना भएको यो उद्योगमा करिब ३५ सयभन्दा बढी कामदार कार्यरत छन्। अत्याधुनिक प्लान्टमार्फत दैनिक १०० टनभन्दा बढी धागो उत्पादन हुँदै आएको यो मिल टर्कीदेखि जापानसम्म निर्यात गर्दै आएको छ।
उद्योगका प्रबन्धक महेश पोखरेलका अनुसार विद्युत् कटौती सँगै उत्पादन पूर्णरूपमा ठप्प भएको छ। “बिजुली नजोडिएसम्म उद्योग चलाउने स्थिति छैन,” उनले भने, “हामीमाथि जबर्जस्ती ७५ करोडको बिल थोपरेको हो, जबकि हामी मासिक ६ करोड रुपैयाँ नियमित रूपमा तिर्दै आएका थियौं।”
नेपाल विद्युत् प्राधिकरणले भने करिब ७५ करोड रुपैयाँ बक्यौता रहेको दाबी गर्दै लाइन काटेको हो। उद्योग बन्द भएपछि ३५ सय कामदारलाई ‘बिदा’मा राखिएको छ। उत्पादन ठप्प हुँदा निर्यातसमेत रोकिएको छ, जसले देशमा डलर आम्दानीमा पनि असर पारेको प्रबन्धक पोखरेलले बताए।
रिलायन्स स्पिनिङ मिल्सले नेपालका ३ हजारभन्दा बढी कपडा उद्योगहरूलाई धागो आपूर्ति गर्दै आएको छ। कम्पनीले वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको धागो भारत र तेस्रो देशहरूमा निर्यात गर्दै आएको थियो।
उद्योग ठप्प भएपछि सम्पूर्ण उत्पादन शून्यमा झरेको छ, र उद्योग क्षेत्रका विज्ञहरूले यसले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।




.gif)





